मुस्ताङमा बाढीले १० घर सहित निर्माणाधिन पुल बगायो

  म्याग्दी न्युज संवाददाता

म्याग्दी। मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका– ४ ,कागबेनीमा कागखोला थुनिएर आएको बाढीले आइतबार राती १० घर सहित एउटा निर्माणधिन पक्की पुल बगाएको छ । गाउँपालिका केन्द्र समेत रहेको धार्मिक स्थल कागबेनीमा आइतबार राती ८ बजे कागखोलाबाट आएको बाढीले घर,सार्वजनिक भवन र पुलमा क्षति पुर्‍याएको वारागुङ मक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिङजिन नामगेल गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार करिब एकसय घरधुरी रहेको कागबेनीको बीच बस्तीमा कागखोलाको बाढी पसेको छ ।

आइतबार राती ८ बजे भारी वर्षापछि कागखोलामा आएको बाढी बस्तीमा पसेर भागाभाग भएको थियो उहाँले भन्नुभयो,‘‘१० वटा घर,निर्माणधिन एउटा पक्की पुल र सडक बगाएको खबर आएको छ । खोला आसपासका धेरै घरहरुमा बाढी पसेको छ ।’’ माथिल्लो मुस्ताङ जाने कागबेनी र छुसाङ जोड्ने निर्माणधिन पक्की पुल बाढीले बगाएको पालिका अध्यक्ष गुरुङले बताउनुभयो ।

अहिले बिहानै बाढीग्रस्त क्षेत्र तर्फ जनप्रतिनिधि सहितको टोली हिडेको पालिका अध्यक्ष गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘बाढीले धेरै नै क्षति पुर्‍याएको खबर आएको छ । राती अबेर सम्म स्थानीयवासी र सुरक्षाकर्मीहरुले उद्दारको काम गर्नुभएको छ । मानविय क्षति भने हुन पाएको छैन । म अहिले बाढीग्रस्त क्षेत्र तर्फ हिडेको छु ।’’ उहाँका अनुसार बाढी बस्तीमा पसेपछि आइतबार साँझ स्थानीयवासीहरु भागभाग गरेका थिए ।

मुक्तिनाथको शीर हुँदै बहने वारागुङ मुक्तिक्षेत्र—२, को झोङ,पुडाक र छेङ्गुरको शाखा नदी थुनिएर आएको बाढीले कागबेनीमा १० घर र पक्की पुलसहित धनमाल बाढीले बगाएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीले जानकारी दिनुभयो ।बस्तीमा बाढी पसेपछि स्थानीयवासीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको उहाँले बताउनुभयो । मानविय क्षति नभएपनि बाढीले भौतिक संरचनामा क्षति पुर्‍याएको उहाँले बताउनुभयो । नेपाली सेना,शसस्त्र प्रहरी र नेपाल प्रहरी सहित जनप्रतिनिधिहरु उद्दारमा खटिएका छन् ।

बाढीले पोल बगाएको हुँदा विद्युत सेवा अवरुद्ध भएको छ । कागबेनी हुँदै उपल्लो मुस्ताङ जाने सडक अवरुद्ध भएको छ । सिँचाईको नहर,गुम्बामा पनि बाढीले क्षति गरेको छ । कागबेनीको जनशान्ति माविका शिक्षक मनविर किसानले कागबेनीको पुजास्थल,पुल बाढीले बगाएको र विद्यालयको खेलमैदानमा बाढी पसेको जानकारी दिनुभयो । बाढी आएपछि छात्राबासका शिक्षक र विद्यार्थीहरु सुरक्षित ठाउँमा गएर बसेको उहाँले बताउनुभयो ।

प्रहरीका अनुसार कागबेनीमा रहेको प्रहरीचौकी, धर्मशाला र केही घरमा क्षति गराएको छ । एउटा झोलुंगे पुल र तीन वटा विद्युत् पोल पनि ढलेकोले विद्युत् आपूर्ति बन्द भएको छ । झोङ भन्ने स्थानमा पहिरो गई कागखोलामा मिसिएपछि बाढी तल कागवेनी बस्ती पसेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी गोपिकृष्ण सुवेदीले दिएको जानकारी अनुसार कागबेनी र जोमसोमको सम्पर्क विच्छेद भएको छ । उहाँले भन्नुभयो, ‘‘बाढीले सडक र विद्युत पोल बगाएकाले कागबेनीमा पुग्न समस्या भएको छ ।’’

बाढीले बिजुलीको तारपोल बगाएकोले विद्युत् आपूर्ति रोकिएको छ जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक रवीन्द्र पौडेलले भन्नुभयो, ‘कागवेनी र जोमसोम बीचमा पर्ने पाण्डाखोलामा आएको बाढीले जिल्लाबाट थप सहयोग पठाउनसमेत समस्या भएको छ ।’कागबेनी माथिका शाखा खोलाको बहाव उच्च हुँदा कालिगण्डकी नदीको सतह समेत उच्च भएको बताईएको छ । कागबेनी माथिको शाखा खोला थुनिएको थाहा पाएपछि जोमसोम बजारमा समेत बाढीको त्रास बढेको बताइएको छ । gorkhapatraonline

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार