देबी गर्बुजा ‘मेरो डान्स युनिभर्स’को फस्ट रनरअप घोषित

  म्याग्दी न्युज संवाददाता

नेपालमा अहिलेसम्मकै सर्वाधिक धनराशिको पुरस्कार राखिएको ‘मेरो डान्स युनिभर्स’मा म्याग्दीकी देबी गर्बुजा फस्ट रनरअप घोषित भएकी छन् । काठमाण्डौमा सम्पन्न भएको प्रतियोगितामा म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं ४ दग्नाम घर भई हाल यूरोपको बेल्जियममा बस्ने गर्बुजा अन्तिम प्रतिस्पर्धामा फस्ट रनरअप भएकी हुन् ।

नेपाली भाषा, कला तथा मौलिक संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले सुरु गरिएको प्रतियोगितामा विश्वका ५२ भन्दा बढी देशबाट १ सय २० जना प्रतियोगितामा सहभागीमध्ये गर्बुजा मगर दर्शकीय मत र निर्णायकको जर्जहरूको आधारमा हरेक चरणका उत्कृष्ट भएपनि अन्तिम प्रतिस्पर्धामा गर्बुजाले रु ३० लाख सहित विभिन्न पुरस्कार प्राप्त गरिन् ।

बाल्यकालदेखि नै नृत्यमा सक्रिय देवी गर्बूजाको कलात्मक नृत्यलाई दर्शकले रुचाएका छन् भने जर्जहरूले प्रशंसा गरेका छन् । अन्तिम १६ को प्रतिस्पर्धा यता गर्बुजालाई विश्वभर रहेका म्याग्देलीको साझा संस्था मोना अन्तराष्ट्रियमार्फत राष्ट्रिय समितिले भोटिङ अभियान नै सञ्चालन गरेको थियो ।
मोना अन्तराष्ट्रियका सांस्कृतिक संयोजक एवम् उपाध्यक्ष सुर्जे भट्टचनले विश्वभर रहेका म्याग्देलीको भोटिङ अभियानले उपाधीमा पुग्न सहज भएको बताए । ‘हामीले विजेताकै लागि निकै प्रयास गरेका थियौं,‘भोटिङ अभियानमा साथ दिनुहुने सबैलाई धन्यवाद दिन चाहन्छौ’ उपाध्यक्ष भट्टचनले भने । मोना पोर्तुगलकी महिला उपाध्यक्ष समेत रहेकी गर्बुजा हाल रोजगारको सिलसिलामा बेल्जियममा रहेकी छन् । उनी यसअगाडी समेत मिस नेशनल आइकनको उपाधी समेत जितिसकेकी छन् ।

विश्व मगर संघ बेल्जियमका अध्यक्ष लोक रानाले म्याग्दीकी प्रतिभाशाली गर्बुजा मगरले कला र संस्कृतिलाई नेपाली र नेपालीभाषीसम्म पुर्याउन सफल भएको बताए । यसैबीच प्रतियोगितामा उपविजेता हुने गरी सहयोग गर्ने सम्पूर्णलाई गर्बुजाले धन्यवाद दिएकी छन् । उनले आफ्नो नृत्यले मात्रै नभई भोटिङ गरी सहयोग गरेकाले निरन्तर सफलता मिलेको बताईन् ।

संसारमा छरिएर रहेका नेपाली जातिबीचको आपसी सद्भावलाई कायमै राख्न र नेपाली भाषा र संस्कृतिलाई जीवन्त राख्न धेरै अनुभवी प्रतियोगिसँग अनुभव साट्ने अवसर समेत मिलेको बताईन् । इन्ट्रा नेपाल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले सञ्चालन गरेको ‘मेरो भ्वाइस युनिभर्स’को उपाधि प्रितम राई (भारत)ले र नृत्यतर्फको ‘मेरो डान्स युनिभर्स’ को उपाधि खुशी कार्की (थाइल्यान्ड)ले हात पारेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार