सुवा गाउँका पहिरो पीडितलाई आपतकालिन राहत

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । म्याग्दीको अन्नपुर्ण गाउँपालिका–३,सुवाका पहिरो पीडित परिवारलाई आपतकालिन राहत वितरण गरिएको छ । मङ्गलबार जिल्ला विपद् व्यवस्थापन समिति, म्याग्दीले २० घरपरिवारलाई एक लाख दश हजार रुपैयाँ नगद वितरण गरेको हो । पहिरोले पुर्ण रुपमा क्षती पु¥याएको सतबिर पाइजालाई १५ हजार र विस्थापित अन्य १९ जनालाई पाँच÷पाँच हजार रुपैयाँका दरले वितरण गरेको वडा अध्यक्ष रमेश पुर्जाले जानकारी दिनुभयो ।

उक्त राहत रकम वितरण गर्दै गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले तत्कालिन हिसाबले क्षति न्युनीकरण, सुरक्षित बसोबासको व्यवस्था र दिर्घकालिन रुपमा प्राबिधिक टोलीबाट अध्ययन गरि बस्ती स्थानान्तरण, एकिकृत वस्ती निर्माण र पुननिर्माणका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

साउन ३२ गते रातीको अविरल बर्षाले गाउँको शीर र पुछारको कालीगण्डकी नदीतीरको खामभित्ता र सुकेबगर क्षेत्रबाट पहिरो गएपछि सुवा गाउँमा पहिरोले स्थानीयबासीको उठिबास लगाएको हो । पहिरोले ८ घर उच्च र १० घरधुरी जोखिममा छन् । दानाको सुवा संगै पुलिबाङ, फगाम, कमेरेडाँडा, तितर लगायतका ठाउँमा समेत पहिरोको जोखिम बढेको छ ।

सुवा गाउँको शीर र पुछारबाट पहिरो गएपछि गाउँ अन्य ठाउँबाट सम्पर्क विच्छेद भएको थियो भने सुरक्षित ठाउँमा समेत जान नसक्ने अवस्था आएको थियो । पहिरोले जोखिममा रहेका सुवाबासीलाई गाउँपालिका र जिल्ला विपद् व्यवस्थापन समितिको पहलमा दानामा रहेको वडा कार्यालयको सभाहलमा खाने बस्ने व्यवस्था मिलाइएको छ ।

सशस्त्र प्रहरी बल नेपाल, आश्रीत गुल्म गलेश्वरबाट खटिएका प्रहरी टोलीले जिल्ला विपद् व्यवस्थापन समितिले उपलब्ध गराएको टेन्ट र त्रिपाल टाँगेर पहिरो पीडितको लागि बसोबासको पूर्वाधार निर्माण गरेका छन् । ५० जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो । सुवा लगायत दानाका विभिन्न ठाउँमा पहिरोको जोखिममा परेका स्थानीयबासीलाई गाउँपालिकाले त्रिपाल, टेन्ट, खानेपानीको पाईप लगायतका अत्यावश्यक सामाग्री समेत वितरण गरेको छ । गाउँको पुछार र शिरानबाट नै पहिरो गएकाले तत्काल रोकथाम गर्न सम्भव नदेखिएकाले स्थानीयबासीलाई सुरक्षित स्थानमा राखेर खाना र बसोबासको प्रवन्ध मिलाउने काममा गाउँपालिकाले ध्यान दिएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो । अहिले सुवामा सुकेबगर र द्धवारीखोलाबाट गाउँ जोड्ने पदमार्ग अधिकाँश पहिरोले बगाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार