अन्नपूर्णमा होटल तथा खाद्यान्न पसलहरुको अनुगमन

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । अन्नपूर्ण गाउँपालिकाको पोखरेबगर, भुरुङतातोपानी र दाना क्षेत्रमा संचालित होटल, खाद्यान्न, वर्कसप, मेडिकल कस्मेटिक, ईलेक्ट्रोनिक्स पसलहरुको अनुगमन गरिएको छ।

अन्नपूर्ण गाउँपालिका र पर्यटन तथा उद्योग कार्यालयको संयुक्त आयोजनामा बेनी जोमसोम सडक अन्तरगत पर्ने पोखरेबगर, भुरुङतातोपानी र दाना क्षेत्रमा संचालित ७० वटा होटल तथा किराना लगायत पसलहरु अनुगमन गरिएको हो ।

अनुगमन टोलीले ३५ वटा होटल, २५ वटा किराना पसल, तीनवटा वर्कसप, एक मेडिकल, तीन कस्मेटिक, र तीन इलेक्ट्रोनिक्स पसलहरु अनुगमन गरिएको प्रमुख प्रशासकिय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो । उहाँले अनुगमनका क्रममा ६० हजार रुपैयाँ बराबरको म्याद गुज्रेका र अखाद्य वस्तुहरू जफत गरी नष्ट गरिएको बताउनुभयो ।

“अनुगमन टोलीले दर्ता नविकरण सम्वन्धी, कालोबजारी नियन्त्रण गरी गुणस्तरीय सामानहरु पसलमा राख्ने सम्वन्धी जानकारी गराएको छ”, उहाँले भन्नुभयो । “उपभोक्तालाई सचेत बन्न र गुनासो गर्ने बानी बसाल्न अनुगमन टोलीले सुझाव दिएको छ ।”

अनुगमनको क्रम भेटिएको कमी कमजोरीहरुलाई तत्काल सुधार गर्न गाउँपालिकाले निर्देशन समेत गरेको छ।

अन्नपूर्ण गाउँपलिकाका अध्यक्ष भरतकुमार पुन, उपाध्यक्ष दिवाकुमारी तिलिजा पुन, प्रमुख प्रशासकिय अधिकृत अमृत सुवेदी, पर्यटन तथा उद्योग कार्यालयका प्रमुख पोषनाथ शर्मा, बजार अनुगमन इकाईका सचिव एवम् प्रशासकिय अधिकृत भगवती खड्का, शिक्षा, प्राविधिक प्रमुख, लगायत कर्मचारीको तीन टोलीमार्फत अनुगमन गरिएको थियो ।

पछिल्लो समय संघीय संरचना अनुसार म्याग्दीमा बेनी र अन्नपूर्णले बजार अनुगमनको सुरुवात गरेका छन भने अन्यले गरेका छैनन् । स्थानीय तहले प्रभावकारी अनुगमन नगर्दा ब्यापारीहरुले गाउँगाउँमा म्याद ग्रुजिएका सामानहरु पुर्‍याउने गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार