नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलनकाे तयारी तिब्र

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दीको सदरमुकाम बेनीमा हुने नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलनको तयारीलाई तिब्रता दिइएको छ । म्याग्दी जेसीजको आतिथ्यतामा आगामी असोज ३, ४ र ५ गते हुने क्षेत्र ख सम्मेलनको तयारीका बारेमा शनिवार आयोजित पत्रकार सम्मेलनमा जिल्लालाई चिनाउने गरी सम्मेलनलाई भब्य बनाउने तयारी भइरहेको बताइएको छ । सम्मेलन निर्देशक तथा म्याग्दी जेसीजका पूर्व अध्यक्ष सुविन श्रेष्ठले म्याग्दीमा आउने प्रतिनिधिलाई स्वागतदेखि विदाईसम्म भब्य बनाउने बताए ।

उनले सम्मेलनमा सहभागी हुन आउने प्रतिनिधिहरुको आवास व्यवस्थापन, स्वागत तथा सत्कार, प्रचार प्रसार लगायतको तयारी अन्तिम चरणमा पुगेको बताए । सम्मेलनलाई अविष्मरणीय बनाउन आर्थिक संकलन, प्रचारप्रसार, कार्यक्रमस्थल ब्यवस्थापन, होटल ब्यवस्थापन, बजार सजावट, मायाको चिनो, कार्यक्रमको समय तालिका समेत तयार भइसकेको बताए । सम्मेलनमा क्षेत्र ख अन्तरगतका ४१ शाखाका करिब ६ सय जनाले सहभागीता जनाउने शाखा अध्यक्ष सुमन बानियाँले बताए । म्याग्दी जेसिज स्थापाना भएको २५ बर्ष पूरा गरेको अवसरमा आयोजित सम्मेलन जिल्लाको पर्यटन विकास, प्रवद्र्धन, उत्पादित बस्तु तथा उपजको बजारीकरणका साथै कला, संस्कृतिको संरक्षणसंग जोडिएको छ ।

सम्मेलन सम्पन्न गराउन ४२ लाखको खर्च अनुमान गरिएको जानकारी दिदै सम्मेलन अवधिमा म्याग्दीमा एक करोडको कारोबार हुने अनुमान गरिएको छ ।कार्यक्रममा सम्मेलनका सभापति एवम् नेपाल जेसीजका निरुपित राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष रजनी थापाले बेनीमा हुने क्षेत्र ख सम्मेलनले म्याग्दीको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताईन् ।

सम्मेलनको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । सम्मेलनमा सहभागी हुन आउनेहरुलाई म्याग्दीकै जंगलमा पाईने अल्लोबाट बनेका झोला र बेनीको बजारको गीत लेखिएको रुमाल र कालीगण्डकी पाईने शालीग्रामको उपहार दिइने छ । म्याग्दी जेसीजका संस्थापक अध्यक्ष रमेशकुमार श्रेष्ठले सम्मेलनलाई जिल्लाका सबै संघसंस्था र स्थानीय तहहरुले समेत प्राथमिकता दिएको बताए । सम्मेलनमा आउनेलाई जिल्लाका कला र संस्कृति प्रर्दशनसँगै बसाईलाई अविस्मरणीय बनाउने गरी स्वागत गरिने म्याग्दी जेसीजले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार