दग्नाममा सार्वजनिक सुनुवाई सम्पन्न

  धनिलाल गर्बुजा

दग्नाम । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्वर ४ दग्नामको सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । आइतबार वडा कार्यलयको आयोजनामा आर्थिक बर्ष २०७९/०८० मा भएका सार्वजनिक सेवा प्रवाह तथा विकास निर्माणको प्रभावकारिता विषयमा सेवा प्रदायक र स्थानीय सरोकारवालाहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

सार्वजनिक सुनुवाईमा सहभागी स्थानीयबासीले समग्र कृषि क्षेत्रमा बिउबिजन तथा अनुदानमा उपेक्ष गरिएको, स्वास्थ्य सेवाबाट पाउने निशुल्क औषधी प¥याप्त मात्रा पाउन नसकेको, वडा भित्र सञ्चालित रघुगंगा जलविद्युत आयोजनाले सुरुङ निर्माण र सडक खन्ने क्रममा प्राकृतिक सम्पदाहरु मासिनुको साथै जमिन भासिएर गाउँनै जोखिममा परेको, सामाजिक उत्तरदायित्वका कार्यहरु आयोजनाले प्रभावित क्षेत्रका जनताको चासो र गुनासोलाई अवमूल्यन गरेको, आयोजनाले जमिन खरिद गर्दा वडा र स्थानीयसंग समन्वय नगरी आफुखुशी खरिद गरेको भन्दै वडा र पालिका मार्फत समस्या समाधानमा जलविद्यूत कम्पनीहरुसंग सहजीकरण गर्न माग गरेका छन् ।

तेस्तै कार्यक्रममा सुधारिएको चुलो बितरणमा नातावाद भएको, आमा समुहहरु विवाह वर्तन र क्लवका युवाहरु मेला पर्वमा मात्रै सिमित रहेको, वडाभित्र कार्यान्वयन भएको सडक लगायतका योजनामा दिगो विकासका प्रभावकारी अनुगमन नभएको, टुक्रे योजनाहरु सञ्चालन गर्दा प्रभाकारिता नभएको, वडामा बार्षिक एक वडा एक मेला आयोजना व्यवस्था गर्नु पर्ने, शिक्षा क्षेत्रामा दक्ष जनशक्तिको अभाव रहेको, छुवछुतमुक्त राष्ट्र घोषणा भए पनि दलित समुदायले अझै मठ मन्दिरमा अपनत्व पाउन नसकेको लगायतका गुनासा र सुझाँव राख्नुभएको थियो ।

कार्यक्रममा उपस्थितमध्ये हिमाल पुन, राजकुमार विश्वकर्मा, हिरामान पाईजा बिप्रसाद पुन, दम्मरबहादुर विश्वकर्मा,याङकुमार गर्बुजा, ओमप्रसाद तिलिजा, याङबहादर पाईजा, जालबहादुर गर्बुजा, लक्ष्मी पाईजा गर्बुजा, तेकेन्द्र गर्बुजा लगायतले गुनासो र सुझाँव राख्नुभएको थियो ।

सार्वजनिक सुनुवाईमा उठेको प्रश्नको जवाफदिदै वडा अध्यक्ष पविन गर्बुजाले रघुगंगा गाउँपालिका अन्तरगत मौवाफाँट–दग्नाम सडक विगतको तुलनामा धेरै स्तरोन्नति भएको र दोबाङ्ग भिरको साँघुरो भागलाई फराकिलो बनाउन बजेट बिनियोजन भैसकेको बताउनुभयो । उहँले वडाभित्रका आम नागरिकलाई शुद्ध पानी उपलब्ध गराउने, शिवमुलक तालिम प्रदान गरि स्वरोजगार बनाउने, गाउँमा भएका कुसंस्कार विकृति विसंगतिहरुको अन्त्य गर्ने, जनता मावि र शिव आधरभुत विद्यालयलाई शैक्षिक सुधारको लागि वडाबाट बिशेष प्राथमिक्ता राख्ने बताउनु भयो ।

“वडाभित्रको सेवाप्रवाह, विकास निर्माणमा जनप्रनिधि, कर्मचारी जिम्मेवार छन् वा छैनन् भन्ने विषयमा वडाबासीको धारण सुन्नको लागि सार्वजनिक सुनुवाई गरेका छौ, यहाँहरुको गुनाँसो, सुझावले जनप्रतिनिधि, कर्मचारीलाई जिम्मेवार बन्न मदत पुग्छ” वडाअध्यक्ष गर्बुजाले भन्नुभयो । “वडाभित्र विकास निर्माण राजनीतिक पूर्वाग्राही नराखी काम गरेका छौ, आगामी दिनमा संघ र प्रदेशका जनप्रतिनिधिहरुले योजना छनोटमा समन्वय गर्छौ।”

वडा अध्यक्ष गर्बुजाले जलविद्युत आयोजनाहरुबाट उत्पन्न समस्या समाधानमा वडा र पालिकाबाट निरन्तर ध्यानकर्षण गराउने काम भैरहेको बताउँदै वडाभित्र आउने योजनाहरुको प्रभाबकारी कार्यान्वयनमा जनप्रतिनिधि, कर्मचारी र स्थानीयबासी समेत सक्रिय हुनुपर्नेमा जोड दिनु भयो । उहाँले वडामा भए गरेका गतिविधिमा आफ्नो साझा चिन्तन रहेको र सार्वजनिक सुनुवाइमा सुझाव तथा सल्लाह दिएकोमा धन्यवाद व्यक्त गर्नुभयो ।

कार्यक्रममा वडा सचिब धनराज देवकोताले गत आर्थिक बर्षमा वडाबाट सम्पादन भएका गतिविधि, विकास निर्माण योजना, सेवा प्रवाह लगायतको बारेमा प्रगति विवरण पेश गर्नुभएको थियो । उहाँका अनुसार, वडा कार्यालयले गत आव २०७९/०८० मा कुल ८८४ वटा सिफारिस, १०५ वटा व्यक्तिगत घटनाहरु दर्ता भएको थियो । जम्मा ८४ लाख ५४ हजार ९ सय ७ रुपौयाँ राजश्व संकलन गरेको छ । आर्थिक वर्ष २०८०/०८१ को साउन देखी भाद्र सम्म १२४ वटा सिफारिस, २८ वटा व्यक्तिगत घटनाहरु दर्ता भएको छ । आ.व २०८०/०८१ को साउन देखी भाद्र मसान्त सम्म जम्मा १ लाख ४ हजार १ सय २४ रुपौयाँ राजश्व संकलन गरि गाउँपालिकाको खातामा दाखिला गरेको छ ।

कार्यक्रममा वडामा रहेका बिभिन्न संघ संस्थाका गतिविधिको साथै विद्यालयहरुको विवरण समेत सार्वजनिक गरिएको थियो । कार्यक्रममा जनता माविका प्रअ खड्क बहादुर गर्बुजा, शिव आधारभुत विद्यालय दर्मिजाका प्रअ लक्ष्मी पाईजा गर्बुजा, स्वास्थ्य चौकीका हेअ होमबहादुर फगामी, नाङ्गीदेबी आमा समुहका सदस्य मैना पुन, सिद्धभुमे आमा समुहका सचिव रमायाँ पुन, भुमेथान तथा नाङ्गीदेबी मन्दिर संरक्षण समितिका सचिव जितबहादुर गर्बुजा, दग्नाम नौमति बाजा समुहका कोषाध्यक्ष गुनबहादुर पुर्जा, दग्नाम पुर्ख्यौली संरक्षण समितिका कोषाध्यक्ष ज्यामबहादुर पुन, दग्नाम एकता क्लवका उपाध्यक्ष तेकेन्द्र गर्बुृजा, दग्नाम बन उपभक्ता समितिका सचिव रुकबहादुर गर्बुजा, धौलागिरी महिला बहुउद्देश्य सहकारी संस्थाका जेनिसा पुन लगायतले गत बर्ष भएका उपलब्धी तथा प्रगतीको विवरण पेश गर्नुभएको थियो ।

वडा अध्यक्ष गर्बुजाको अध्यक्षता, रघुगंगा गाउँपालिका फिल्ड पञ्जिकरण शाखाका फुलमायाँ गर्बुजाले सञ्चालन गरेको कार्यक्रममा राहुघाट जलविद्युत आयोजनाका इन्जिनियर रविन कटेल नेपाली कांग्रेस गाउँ इकाई सभापति कृष्ण गर्बुजाले मन्तव्य राख्नु भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार