विकासमा पछाडि परेका म्याग्दी सहित तीन जिल्लालाई प्राथमिकता दिएर बजेट विनियोजन गरेका छाैं : मुख्यमन्त्री पाण्डे

गणतन्त्र र संघीयतामाथिको प्रहार स्वीकार्य छैन

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । दुई दिन सम्म सञ्चालन हुने नेपाल जेसीजको क्षेत्र ‘ख’सम्मेलन आजदेखि बेनीमा सुरु भएको छ । म्याग्दी जेसीजको आतिथ्यतामा आयोजित उक्त सम्मेलनको विहीबार गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्नुभयो । मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले विकासमा पछाडि परेका म्याग्दी सहित तीन जिल्लालाई प्राथमिकता दिएर बजेट विनियोजन गरेकाे बताउनुभयो ।
‘हाम्रो प्रदेशमा विशेष गरेर विकासको दृष्टिकोणले पछाडि परेका म्याग्दी ,मुस्ताङ र मनाङलाई प्राथमिकता दिएर प्रदेश सरकारले बजेट विनियोजन गरेको छ,’ मुख्यमन्त्री पाण्डेले भन्नुभयो ,‘चालु आर्थिक वर्षमा वहुवर्षिय कार्यक्रम अन्तर्गत तपाईहरुको जिल्ला म्याग्दीमा झण्डै पचास करोड रुपैयाँ आउँछ ।’

यसैगरी उहाँले वर्तमानको गणतन्त्र र संघीयतामाथिको प्रहार स्वीकार्य नहुने बताउनुभयो । उहाँले संविधान र अहिलेको व्यवस्थाप्रति भ्रम फैलाउने गतिविधि स्वीकार्य नभएको बताउनुभयो ।‘हरेक नागरिकलाई यही व्यवस्थामा रहेर आफूलाई मन नपरेको र चित्त बुझेको विषयमा स्वच्छ आलोचना गर्ने अधिकार छ ,गणतन्त्र र संघीयतालाई अझै सुदृढ बनाउन सकेमा मात्र नागरिकको अधिकार सुरक्षित हुन्छ,’ मुख्यमन्त्री पाण्डेले भने, ‘गल्ती गर्ने जोकोहीले पनि सजाय भोग्नुपर्ने अवस्था अहिलेको व्यवस्थाले ल्याएको सुन्दर पक्ष हो ।’

दुई सय ४० वर्षको राजतन्त्र, ३० वर्षे पञ्चायती व्यवस्था र एक सय चार वर्षे राणा शासनको इतिहास अध्ययन गर्न अनुरोध गर्दै मुख्यमन्त्री पाण्डेले संविधान र संघीयता कार्यान्वयनका क्रममा देखिएका कमजोरीबाट पाठ सिकेर सबैले आफ्नो ठाउँबाट जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । उहाँले विकासले पछी परेको म्याग्दी जिल्लालाई उकास्न तीन तहका जनप्रतिनिधिले सहकार्य र समन्वय गर्नुपर्ने बताउनुभयो ।

तीनै तहका सरकारबीच आवश्यक समन्वय र सहकार्य नगरी एकले अर्कालाई आरोप लगाउँदा जनताले अपेक्षा गरेअनुरुप कार्यसम्पादन हुन नसकेको उल्लेख गर्नुभयो ।म्याग्दीको पश्चिम क्षेत्रको ‘लाइफलाइन’ मानिएको बेनी–दरबाङ सडकको प्रमुख समस्या बनेको फापरखेतको पहिरोले निम्त्याएको सवारी आवागमनको समस्यालाई हल गर्न बैकल्पिक सडकको लागि बेलिब्रिज पुल निर्माण कार्य प्रदेश सरकारले चालु आर्थिक बर्षमा गर्ने प्रतिवद्धता जनाउनुभयो । निर्माण व्यवसायिको चरम लापरबाहीले अलपत्र बनेको बेनी अस्पतालको भवन पूर्णता दिन निर्माण कम्पनीलाई निरन्तर ताकेता गरेर काममा फर्काउन लागेको जानकारी दिनुभयो । उहाँले स्थानीय तहले स्रोत सुनिश्चितता गरेर आएमा अस्पताल हस्तान्तरण गर्ने उल्लेख गर्दै आरोप भन्दा रचनात्मक सुझाव लिएर आउन स्थानीय तहका जनप्रतिनिधिलाई आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’, गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात ब्यवस्था मन्त्री रेशमबहादुर जुग्जाली, प्रदेशसभा सदस्य हरी भण्डारी र विमला गौचनले युवाहरुको ब्यक्तित्व र नेतृत्व विकास गर्ने संस्था नेपाल जेसीजको बेनीमा भएको क्षेत्र ख सम्मेलनले म्याग्दीको पर्यटन प्रर्वद्धनमा सहयोग पु¥याउन मदत पुग्ने धारणा राख्नुभएको थियो ।

सम्मेलन सभापति रजनी थापाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा राष्ट्रिय अध्यक्ष विकास मानन्धर, जिसस प्रमुख राजकुमार थापा, गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्मा, बेनी नगरपालिका मेयर सुरत केसी, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल, मातृ शाखा बागलुङका शौरभ श्रेष्ठ मन्तव्य राख्नुभएको थियो । दुईदिनसम्म हुने कार्यक्रमबारे सम्मेलनका निर्देशक सुविन श्रेष्ठले जानकारी गराउनुभएको थियो भने म्याग्दी जेसिजका अध्यक्ष सुमन बानियाँले स्वागत मन्तव्य राख्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार