वाईसीएल म्याग्दीद्वारा बरंजाको पहिरो पीडितलाई आर्थिक तथा खाद्यन्न सहयोग

म्याग्दी । नेकपा माओवादी केन्द्र निकट युवाहरुको संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसियल) म्याग्दीले मंगला गाउँपालिका ३ बरंजा घाम्ताङका पहिरो पीडित शेर बहादुर परियारको परिवारलाई राहत सामग्री हस्तान्तरण गरेको छ ।
विहिबार पीडित परिवारले अस्थायी रुपमा बसोबास गरेको स्थानमा पुगी चामल, दाल, नुन, तेल, आटा, लगायतका खाद्यान्न तथा त्रीपाल, ओढ्ने ओछ्याउने लगायत अन्य कपडाहरु गरि रु ११ हजार ९ सय ७० रुपैयाँको सामग्री हस्तान्तरण गरिएको हो ।
त्यस्तै १२ हजार ६ सय रुपैयाँ नगद पनि सहयोग प्रदान गरिएको वाईसियल बेनी नगर कमिटीका सचिव गोकुल सुनारले जानकारी दिनुभयो ।
वाईसियलका पदाधिकारी, पार्टीका नेता तथा पार्टी निकट व्यवसायीहरुबाट रकम तथा सामग्री सहयोग संकलन गरि हस्तान्तरण गरिएको सचिव सुनारले बताउनुभयो ।
सहयोग हस्तान्तरण कार्यक्रममा मंगला गाउँपालिका वडा नम्वर ३ का वडा अध्यक्ष याम बहादुर रोका, नेकपा माओवादी मंगला गाउँपालिका कमिटीका उपाध्यक्ष सुकमाया रोका, मंगला गाउँपालिका वडा नम्वर ३ का पार्टी अध्यक्ष श्याम बहादुर थापा, वाईसियलका प्रदेश कमिटी सदस्य अर्जुन शाही र विद्यार्थी नेता सज्जन आचार्यको उपस्थिति रहेको थियो ।
पहिरोबाट घरबास गुमाएका शेर बहादुरको परिवारलाई तत्कालका लागि राहत पुगोस भनेर सहयोग प्रदान गरिएको वाईसियल म्याग्दीका अध्यक्ष सन्दिप खत्रीले बताउनुभयो । सहयोग ग्रहण गर्दै पीडित परियारले दुखमा साथ दिएकोमा वाईसियल म्याग्दीलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
अविरल वर्षाका कारण मंगलबार बेलुकी घरमाथिबाट आएको पहिरोले शेर बहादुर परियारको घर र गोठ पुर्ण रुपमा क्षति भएको थियो ।
घरमा रहेका लत्ताकपडा, खाद्यान्न तथा गोठमा रहेका भैसी, गोरु, बाख्रा लगायत पशुचौपायाहरुलाई पहिरोले पुरको थियो । परियारको ९ जनाको परिवारलाई स्थानीय आमा समुहको भवनमा अस्थायी रुपमा वस्ने व्यवस्था मिलाईएको छ ।
परिवारको आर्थिक अवस्था समेत कमजोर भएका कारण परियारको परिवार विचल्लीमा परेका छन । पहिरो पीडित परिवारलाई राहत तथा व्यवस्थापनको कार्य भईरहेको वडा अध्यक्ष रोकाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार