जनकल्याण माविमा अभिवावक भेला तथा विद्यार्थीलाई पुरस्कार वितरण

  म्याग्दी न्युज संवाददाता

म्याग्दी ।म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरको जनकल्याण माध्यमिक विद्यालयमा ्मङ्गलवार अभिभावक भेला तथा विद्यार्थीलाई पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको आयोजनामा एक समारोहबीच अभिभावकहरुको भेला, विद्यालय सामाजिक परीक्षण तथा पुरस्कार वितरण गरिएको हो ।

कार्यक्रममा गएको आर्थिक वर्ष २०७९÷०८० को विद्यालय सामाजिक परीक्षण प्रतिवेदन प्रस्तुत गरी छलफलसहित पारित भएको विद्यालयले जनाएको छ । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल बानियाँले अध्यक्षको प्रतिवेदन, प्रधानाध्यापक कमलप्रसाद पौडेलले विद्यालयको शैक्षिक तथा प्रगति प्रतिवेदन र लेखा शिक्षक चिरञ्जीवि सुवेदीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

आर्थिक प्रतिवेदनमा उल्लेख गरिएअनुसार विद्यालयले गतवर्ष कुल एक करोड ६१ लाख ५९ हजार दुईसय ५६ रुपैयाँ आम्दानी गरेको छ भने एक करोड ३० लाख ९५ हजार पाँचसय चार रुपैयाँ खर्च गरेको छ । सोही अवसरमा गत शैक्षिक सत्रको वार्षिक परीक्षामा कक्षा ५ र ८ उत्तीर्ण भई प्रथम र द्वितीय भएका विद्यार्थीलाई नगदसहित स्टेशनरीले पुरस्कृत गरिएको थियो । यसैगरी कक्षा ११ मा अध्ययन गर्न आएका नवआगन्तुक विद्यार्थीलाई स्टेशनरी र पोशाकसहित स्वागत गर्नुका साथै कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुलाई पाँचसय रुपैयाँ बराबरको स्टेशनरी प्रदान गरिएको छ ।

त्यस्तै शैक्षिक सत्र २०७९÷०८० मा कक्षा १२ प्रथम हुने प्रकृति बानियाँ पाँचहजार, द्वितीय दिपेश दर्जी तीनहजार र तृतीय समिता सुवेदीलाई दुईहजार रुपैयाँसहित स्टेशनरीले पुरस्कृत गरिएको थियो । अभिवावकहरुको भेलामा महिला अभिभावकहरुबीच सियोमा धागो छिराउने खेल प्रस्तुत गरिएको थियो । यो खेलमा २२ जना सहभागी भएकोमा प्रेमा विश्वकर्मा प्रथम र जमुना नेपाली द्वितीय भई क्रमशः एकहजार र पाँचसय रुपैयाँले पुरस्कृत गरिएको छ । कार्यक्रममा नजिकै आएको दसैँ, तिहारको शुभकामना आदानप्रदानसहित विविध सांस्कृतिक प्रस्तुतीहरु प्रस्तुत गरिएको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेलले विद्यालयमा आयोजना हुने सबै कार्यक्रमहरु विद्यार्थीहरुको लागि भएको बताउनुभयो । उहाँले विद्यार्थीहरु दत्तचित्त भएर आफ्नो दैनिक पठनपाठनमा केन्द्रीत हुनुपर्ने बताउँदै समयको परिवर्तनसँगै बढ्दो प्रविधिको विकासलाई पनि आत्मसाथ गरेर शिक्षकहरुले गुणस्तरीय शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । विद्यालयको शेक्षिक उन्नयनका लागि नगरपालिकाबाट आवश्यक सहयोग उपलब्ध गराउने उहाँको भनाइ छ ।

कार्यक्रम विव्यस अध्यक्ष गोपाल बानियाँको अध्यक्षता, सहायक प्रअ शिव बानियाँको स्वागत र शिक्षक शान्ति शर्माको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा बेनी नगरपालिका–५, पुलाचौरका वडा अध्यक्ष गोविन्द बानियाँ, विद्यालय शिक्षक अभिवावक संघका अध्यक्ष तिलकप्रसाद श्रेष्ठ लगायतको विशेष उपस्थिति रहेको थियो । कार्यक्रममा विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार