पर्वतारोही निर्मल पुर्जाले लिए गैरआवासीय नेपाली नागरिकता

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । किर्तिमानी पर्वतारोही निर्मल पुर्जाले जन्मथलो म्याग्दीमा आएर गैरआवासीय नेपाली नागरिकता लिनु भएको छ  । बेलायतमा बसोबास गर्ने पुर्जाले गैरआवासीय नेपाली नागरिकता लिन बिहिबार काठमाडौबाट कैलाश एयरको हेलिकप्टर चार्टर गरेर बेनी आउनुभएको हो ।

 

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा जन्मिएका पुर्जालाई प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले गैरआवासीय नागरिकता हस्तान्तरण गर्नुभयो । नागरिकता लिएपछि बेनीमा १५ मिनेट बिताएका पुर्जा हेलिकप्टरबाटै अमादम्बा हिमालतर्फ जानुभएको छ ।
“दशै अघिनै एनआरएनए नागरिकता बनाउन आवेदन दिएको थिए । आमदब्लाम हिमालमा आरोही लिएर गएकाले फुर्सद् भएन । काठमाडौमा आएको समयमा हतार भएपछि नागरिकता लिन हेलिकप्टर चार्टर गरेर आएको हो,” उहाँले भन्नुभयो “गैरआवासीय नागरिकताले मातृभूमिप्रति गौरवान्वित भएको छु । यो व्यवस्थाले नेपालमा गैरआवासीय नेपालीको लगानी भित्र्ने वातावरण बन्ने अपेक्षा गरेका छौ ।”

विश्वका ८ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमाल छ महिनामा चढेर किर्तिमान बनाएका पुर्जाको जन्मथलो म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना हो । बेलायती सेनाको विशेष सैनिक फोर्सको जागिर छोडेर हिमाल आरोहण गर्न थालेका पुर्जा हाल पर्वतारोहण व्यवसाय गर्नुहुन्छ । उहाँले हालै संसारको अग्लो सगरमाथा हिमालबाट स्काइभ डाइभ गर्नुभएको थियो ।
जिल्ला प्रशासन कार्यालय म्याग्दीले कत्तिक १७ गतेदेखि गैरआवासीय नेपालीलाई नागरिकता वितरण गर्न थालेको थियो । हालसम्म ४ जनाले गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेको प्रजिअ पौडेलले बताउनुभयो । ४० जनाले गैरआवासीय नेपाली नागरिकताका लागि निवेदन पेश गरेका छन् ।

गत जेठमा संशोधन भएको नागरिकता सम्बन्धी ऐनअनुसार नागरिकता नियमावली सरकारले यसअघि नै स्वीकृत गरेकाले गैरआवासीय नेपालीलाई नेपालको नागरिकता पाउने बाटो खुलेको थियो । वि.स. २०७२ मा जारी भएको नेपालको संविधानले गैरआवासीय नागरिकताको व्यवस्था गरेको थियो ।

एनआरएन नागरिकता लिनेहरूले राजनीति गर्न, सरकारी पदमा बस्न र भोट हाल्न पाउदैनन् । नेपालमा व्यवसाय गर्न र नेपालमा सम्पत्ति राख्न भने पाउँछन् । नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता तथा राष्ट्रहित विपरीतको कार्य गरेको ठहरेमा नागरिकता रद्द गर्न सकिने व्यवस्था ऐनमा छ ।

गैरआवासीय नेपाली नागरिकता लिनका लागि नेपाली नागरिकता त्यागेको वडाको सिफारिस र विदेशी नागरिकता प्राप्त गरेको प्रमाणसहित कागजात पेश गर्न जिल्ला प्रशासन कार्यालय म्याग्दीले सूूचना जारी गरेको छ । गैरआवासीय नेपालीले नेपाली नागरिकता लिनका लागि निवेदक व्यक्ति वा उनका आमा–बुबा, हजुरबुबा–हजुरआमा साबिकमा नेपालको नागरिक रहेको प्रमाण पेस गर्नुपर्ने व्यवस्था रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार