दिवंगत आमा बुबाको सम्झनामा गलेश्वरका बृद्धबृद्धालाई भोजन

गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा अवस्थित जेष्ठ नागरिक आश्रममा रहेका बृद्धबृद्धालाई एक परिवारले भोजन गराउनु भएको छ । मंगला गाउँपालिका–१ कुहुँका स्वर्गिय मनबहादुर पुनका छोरा दलबहादुर पुन, रविन पुन, छोरी पूर्णा रामजाली र नरदेवी गर्बुजाले गलेश्वर अन्नक्षेत्रमा भोजन ग्रहण गर्दै आएका गलेश्वर जेष्ठ नागरिक आश्रमका बृद्धबृद्धाहरुलाई एक दिनको निःशुल्क भोजन गराउनुभएको हो ।

सुक्रवार पुन परिवारले अन्नक्षेत्रमा पुगेर त्यहाँ भोजन ग्रहण गर्दै आएका बृद्धबृद्धा, संस्कृति विद्यालयका विद्यार्थीहरुलाई निःशुल्क भोजन गराउनुभएको थियो । आफ्नो दिवंगत बुबा आमाको सम्झनामा आमा टिकामती पुनको बार्षिक पुण्यतिथिको अवसर पारेर उहाँहरुले रु. २४ हजार नगद अन्नक्षेत्रलाई उपलब्ध गराएर जेष्ठ नागरिकहरुलाई खिर, दही, तरकारी, अचारको भोजन गराउनुभएको थियो ।

पुन परिवारले त्यहाँ रहेका सबै जेष्ठ नागरिक र विद्यार्थीहरुलाई फलफुल र जनही रु. ५० का दरले दक्षिणा समेत प्रदान गर्नुभएको थियो । सोही अबसरमा उहाँका ४ भाई बहिनीको तर्फबाट गलेश्वर जेष्ठनागरिक बृद्धा आश्रमलाई एकमुस्त नगद रु. पन्द्र हजार पाँचसय आर्थिक सहयोग प्रदान गर्नुभएको थियो ।

अन्नक्षेत्र जस्तो महत्वपूर्ण मानविय सेवामा समर्पित संस्थामा पुगेर जेष्ठ नागरीहरुलाई एक दिन भएपनि खाना खुवाउँदा आफुलाई सन्तुष्टि मिलेको सहयोगीदाता रविन पुनले बताउनुभयो । कुहुँ गाउँमा पुर्ख्यौली समुहका लागि बुबा आमाकै नामबाट रु. एक लाख एकाउन्न हजारको स्मृति अक्षयकोष समेत स्थापना गरेको पुनले जानकारी दिनुभयो ।

सहयोग रकम ग्रहण गर्दै गलेश्वरधाम जेष्ठ नागरिक आश्रमका अध्यक्ष बमबहादुर पुनले सन्तानबाट तिरस्कृत भएका तथा बेसाहरा बृद्धबृद्धालाई सहयोग गर्नुभएकोमा सहयोगीहरुलाई धन्यवाद व्यक्त गर्नुभयो । गलेश्वर शिवालय क्षेत्र विकास कोष अन्तरगत रहेको अन्न क्षेत्र र जेष्ठ नागरिक आश्रम छुत्ता छुत्तै संस्था रहेकाले सहयोगीदाताले जेष्ठ नागरिक आश्रम कोषमा नगद सहयोग गरेमा सोही रकमले बृद्ध बृद्धालाई अति आवश्यक खाद्यन्न समाग्री किनेर बितरण गरिने अध्यक्ष पुनले बताउनुभयो ।

गलेश्वर जेष्ठ नागरिक आश्रम परिसरमा रहेको यस अन्नक्षेत्रले आश्रममा रहेका जेष्ठ नागरिक, संस्कृत विद्यालयका विद्यार्थीसंगै तिर्थयात्रीहरुलाई समेत निःशुल्क रुपमा खाना खुवाउने व्यवस्था गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार