जामुनाखर्क माविमा ५ लाख राशीको ‘हिरा बहादुर बानियाँ स्मृति छात्रवृत्ति कोष’ स्थापना

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका वडा नम्वर ६ अर्थुङ्गे स्थित जामुनाखर्क माविमा रु ५ लाख राशीको ‘हिरा बहादुर बानियाँ छात्रवृत्ति कोष’ स्थापना गरिएको छ । बेनपा ६ निवासी समाजसेवी, शिक्षाप्रेमी स्व. हिरा बहादुर बानियाँको स्मृतिमा उहाँका छोराहरु प्रकाश बानियाँ, किरण बानियाँ र सम्पूर्ण परिवारले रु ५ लाखको छात्रवृत्ति कोष स्थापना गर्नुभएको हो ।

शुक्रबार विद्यालयमा आयोजित एक कार्यक्रमका विच नेपाल सरकारका पूर्व परराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवालीले रु ५ लाख रुपैयाँको चेक विद्यालयलाई हस्तान्तरण गर्दै विधिवत रुपमा कोष स्थापना भएको घोषणा गर्नुभयो । छात्रवृत्ति कोष स्थापना कार्यक्रममा बोल्दै पूर्व परराष्ट्र मन्त्री ज्ञवालीले सरकारले शिक्षामा लगानी बढाउनु पर्ने बताउनुभयो । नेपालका विद्यार्थीहरुलाई अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने बनाउनु पर्छ, त्यसका लागि सरकारले शिक्षामा न्युनतम २० प्रतिशत लगानी गर्नुपर्छ, उहाँले भन्नुभयो ।

१२ कक्षा पास गर्दा वित्तिकै विद्यार्थीहरु विदेश पस्ने र विद्यार्थी रित्तिदै जाने अवस्था अहिलेको राष्ट्रिय चिन्ता र चुनौतिको रुपमा रहेकाले यसप्रति सरकार गम्भिर बन्नुपर्ने पूर्व मन्त्री ज्ञवालीको भनाई थियो । उहाँले अहिले देशमा दुईथरि नागरिक उत्पादन भईरहेको बताउनुभयो ।एकथरी देशमै रोजगार गर्न सक्ने र अर्कोथरी शैक्षिक प्रमाणपत्र खल्तिमा राखेर प्रदेशिनुपर्ने गरि दुईथरि नागरिक उत्पादन भएको छ, यसो हुनु देशको विडम्वना हो उहाँले भन्नुभयो ।

नेकपा एमालेका उपमहासचिव समेत रहनुभएका ज्ञवालीले विभिन्न विद्यार्थी संगठनहरुले नेपालका विश्व विद्यालयहरुमा ताला लगाउने, प्राध्यापकहरुलाई कुटपिट गर्ने, जस्ता आतंक सृजना गराउदा विश्वविद्यालयको शैक्षिक गुणस्तर झनै खस्किदै गएको बताउनुभयो । त्रिभुवन विश्वविद्यालयले हालै मात्र सवैभन्दा धेरै विद्यार्थीलाई एकैचोटि दिक्षित गरेर विश्व रेकर्ड राखेको दावि गरेको प्रति कटाक्ष गर्दै पूव मन्त्री ज्ञवालीले संख्यामा धेरै भन्दा पनि विश्व श्रेणीमा १ हजार भन्दा माथिको स्थानमा रहेको नेपालको विश्वविद्यालयले श्रेणी कम गर्न तर्फ लाग्नुपर्ने बताउनुभयो ।

उहाँले शैक्षिक गुणस्तर वृद्धिका लागि शिक्षकहरु पनि पेशा प्रति जिम्मेवार कर्तव्यनिष्ठ बन्नुपर्ने बताउनुभयो । उहाँले बानियाँ परिवारले स्थापना गरेको छात्रवृत्तिले गरिवीका कारण पढाई छोड्न बाध्य हुनुपर्ने विद्यार्थीहरुलाई पढाईलाई निरन्तरता दिन महत्वपूर्ण भूमिका निभाउने बताउनुभयो । कार्यक्रमका अवसरमा स्व. बानियाँको तस्विरमा प्रमुख अतिथिको रुपमा रहनुभएका पूर्व मन्त्री ज्ञवालीले माल्यार्पण समेत गर्नुभएको थियो ।

कोषका संस्थापक संरक्षक किरण बानियाँले वुवाको शिक्षाको क्षेत्रमा सेवा गर्ने चाहनालाई पुरा गर्नका लागि कोष स्थापना गरेको बताउँदै गरिव, दलित, असहाय, तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिने बताउनुभयो । हाल ५ लाखबाट सुरु गरिएको कोषलाई वृद्धि गर्दै २५ लाख पुराउने लक्ष रहेको पनि उहाँले बताउनुभयो । वार्षिक व्याजबाट ६० प्रतिशत छात्रवृत्ति वितरण गर्ने र ४० प्रतिशत रकम कोषमा नै थप गर्दै लगिने उहाँले बताउनुभयो । कोषबाट उच्च शिक्षा अध्ययन गर्ने विपन्न परिवारका विद्यार्थीलाई समेत सहयोग गर्न सकिनेछ ।


कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सोमनाथ ढुङ्गानाले विद्यालयका पूर्व शिक्षक अभिभावक संघ सदस्य समेत रहनुभएका स्व. हिरा बहादुर बानियाँको सामाजिक योगदानको चर्चा गर्नुहुँदै विद्यार्थीको शैक्षिक उन्नयनमा टेवा पु¥याउने उद्देश्य राखेर छात्रवृत्ति कोष स्थापना गरेकोमा स्व. बानियाँका छोरा प्रकाश, किरण बानियाँ र सम्पूर्ण परिवालाई आभार प्रकट गर्नुभयो । कोषका संस्थापक, संरक्षक र विद्यालय विच समझदारी गरेर कोष संचालन निर्देशिका तयार गरिएको उहाँले बताउनुभयो ।


कार्यक्रममा बानियाँ परिवारले रु ५० हजार बराबरको खेलकुद सामग्री विद्यालयलाई हस्तान्तरण गर्नुभएको थियो । त्यस्तै विद्यालयका ११४ जना विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई विद्यालय पोसाक तथा शैक्षिक सामग्री पनि हस्तान्तरण गरिएको कोषका संस्थापक संरक्षक किरण बानियाँले जानकारी दिनुभयो । वि.स.२००८ साल वैशाख २८ गते जन्मिएका बानियाँको २०७९ साल कार्तिक १० गते हृदयघातका कारण मृत्युभएको थियो । स्व. वानियाँका २ श्रीमति, २ छोरा र ३ छोरी रहेका छन ।

कार्यक्रममा नेकपा एमालेका अध्यक्ष देवेन्द्र कटुवाल, बेनी नगरपालिका वडा नम्वर ६ का वडा अध्यक्ष कृष्णसिंह बानियाँ, प्रकाश माविका प्रधानाध्यापक लेख बहादुर हमाल, बेनी नगरपालिकाका शिक्षा अधिकृत कमल ढकाल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममामा स्व. वानियाँको श्रीमति बलदेवि बानियाँ, बाल कुमारी बानियाँ, भाई गणेश बानियाँ लगायत सम्पूर्ण परिवारको उपस्थिति रहेको थियो । कार्यक्रम कोषका संस्थापक प्रकाश बानियाँको अध्यक्षता र विद्यालयका शिक्षक टेक बहादुर चोखालको संचालनमा सम्पन्न भएको थियो ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार