पहिलो दिन १ हजार ७७७ जना बालबालिकाहरूलाई दादुरारुबेला खोप लगाइयो

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । म्याग्दीका सबै पालिकामा बुधबारदेखि दादुरा रुबेला विरुद्धको खोप अभियान सुरु भएको छ । बेनी नगरपालिकाको बेनी अस्पतालमा सुरु भएको अभियानको प्रतिनिधिसभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले स्वास्थ्यकर्मीलाई खोपको बाकस हस्तान्तरण गरेर सुभारम्भ गर्नुभयो ।

 

दादुरा रुबेला विरुद्धको खोप अभियानको पहिलो दिनमा म्याग्दीमा १ हजार ७७७ जना बालबालिकाहरूलाई खोप लगाईएको छ । फागुन १६–२१ गतेसम्म म्याग्दीका ६ वटै स्थानीय तहमा डेढ सय खोप केन्द्र बाट ६ हजार ५ सय ७० जना बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाइने योजना अन्तरगत बुधवार नै २७ प्रतिशत बालबालिकाहरुलाई खोप लगाईएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।

जिल्लाको धवलागिरि गाउँपालिकाले सबैभन्दा धेरै बालबालिकाहरुलाई खोप लगाएको छ । धवलागिरिले ४७ दशमलब १ प्रतिशत बालबालिकाहरुमा पहिलो दिन नै खोप लगाएको छ । त्यसैगरि बेनी नगरपालिकाले २८ दशमलब ४ प्रतिशत, अन्नपूर्ण गाउँपालिकाले २५ दशमलब ३ प्रतिशत, मालिका गाउँपालिकाले २५ प्रतिशत, रघुगंगा गाउँपालिकाले १८ दशमलब ६ प्रतिशत र मंगला गाउँपालिकलो १७ दशमलब २ प्रतिशत बालबालिकाहरुलाई खोप लगाएका छन् ।


अभियानका क्रममा नौ महिना देखि पाँच वर्ष भित्रका बालबालिकालाई दादुरा–रुबेला खोप लगाउन डेढ सय खोप कार्यकर्ता र ३ सय महिला स्वंयमसेविकालाई परिचालन गरिएको स्वास्थ्य कार्यालय म्याग्दीका कोल्डचेन सुपरभाइजर एवम् दादुरा–रुबेला विरुद्धको खोप अभियानका प्रबक्ता बिरेन्द्रकुमार चौधरीले जानकारी दिनुभयो । बुधवार जिल्लाका ६ वटै स्थानीय तहहरुले औपचारिक रुपमा दादुरा रुबेला विरुद्धको खोप लगाउने अभियानको सुरुवात गरेका थिए ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार