बेनीमा श्रमिक शिक्षा सम्बन्धी सचेतनामुलक कार्यक्रम

  म्याग्दी न्युज संवाददाता

बेनी ।म्याग्दी सदरमुकाम बेनीमा सोमबार श्रमिक शिक्षा सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । श्रम तथा रोजगार कार्यालय पोखराको आयोजना र सामाजिक विकास कार्यालय, म्याग्दीको समन्वयमा आयोजित कार्यक्रममा श्रमिकको न्यूनतम पारिश्रमिक, उनीहरुको अधिकार र रोजगारदाताको जिम्मेवारी र जवाफदेहिता लगायतको बिषयमा छलफल भएको थियो ।


कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति, म्याग्दीका प्रमुख राजकुमार थापाले श्रमसंग सम्बन्धीत अधिकार संविधान र विश्वव्यापी रुपमा सन्धीहरुमा उल्लेख रहेको बताउँदै श्रमिकको अधिकार र सुविधामा रोजगारदाताहरु जिम्मेवार बन्नुपर्ने बताउनुभयो । उहाँले श्रमिक सम्बन्धी ऐन, कानुन, उनीहरुको अधिकार र सुविधाको सन्दर्भमा रोजगारदाता र श्रमिक समेतलाई सचेतनाको जरुरी रहेको बताउँदै श्रमिक र रोजगारदाता दुबै जिम्मेवार बन्न सकेमा मात्रै श्रम अधिकारको प्रत्याभूति हुन सम्भव रहेकोमा जोड दिनुभयो । उहाँले वैदेशिक रोजगारमा जाने व्यक्तिहरुले समेत अनिवार्य रुपमा श्रम स्विकृती लिएर मात्रै जान र अप्ठेरो परेको समयमा राज्यको आधिकारिक निकायमा खवर गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा होटल व्यवसायी बाबुराम आचार्यले रोजगारदाता र श्रमिक बिचको सुमधुर सम्वन्धले मात्रै सबैको अधिकार, दायित्व र जिम्मेवारी पुरा हुने बताउँदै यसले राज्यको अर्थतन्त्रमा समेत सघाउ पु¥याउने बताउनुभयो । कार्यक्रममा सहभागीहरुले श्रमिक र रोजगारदाताको सम्वन्धले श्रमिकको अधिकार र सुविधामा पार्ने असर र प्रभाब तथा कानुनमा रहेका अस्पष्टतालाई टेकेर हुने श्रम शोषण लगायतको समस्याको बारेमा छलफल भएको थियो ।

कार्यक्रममा श्रम तथा रोजगार कार्यालय पोखराका बरिष्ठ श्रम अधिकृत सुरेशराज ढकालले श्रम ऐन र श्रम अधिकारको बिषयमा, राष्ट्रिय बालअधिकार परिषदका प्रदेश समन्वय अधिकृत बद्रिप्रसाद वाग्लेले बालबालिका सम्वन्धी विद्यमान कानुनी व्यवस्था र बालश्रमको बिषयमा सहजीकरण गर्नुभएको थियो । कार्यालयका कारखाना निरिक्षक इन्जिनियर बलराम कुसवाले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन नायब सुब्बा जिवाखर शर्माले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार