बेनी बजार अनुगमन

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दी सदरमुकाम बेनी बजारका पसलहरु अनुगमन गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङको नेतृत्वमा बुधबार बजारका पसलहरु अनुगमन गरेको हो ।९ वटा होटल र १५ वटा खाद्यान्न पसल अनुमगन गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्राविधिक सहायक सहन्सा कुमार मेहताले बताउनुभयो ।

बजार अनुगमनको क्रममा उपभोग्य अवधी समाप्त भएको खाद्य सामग्री तथा म्याद गुज्रेका सामान बिक्री गरेको ,मुल्यसुची नराखेर संचालन गरेको र नवीकरण नगरेको पाइएको छ । अनुगमनमा भेटिएका कमी, कमजोरीलाई तत्कालै सुधार गर्न उद्योगी, व्यवसायीलाई निर्देशन दिइएको प्राविधिक सहायक मेहताले बताउनुभयो । यसैगरी,बेनी सामुदायिक र प्रकाश माविको सटर भाडामा लिएर सञ्चालन गरिएका खाद्यान्न पसलहरुमा अवैध रुपमा विक्री वितरण हुँदै आएको मदिरा तथा सुर्तिजन्य पदार्थ जफत सँगै थप आवश्यक कारबाही गर्ने नगरपालिकाले जनाएको छ ।

करिब बीस हजार मुल्य बराबरको खाद्य तथा पेय पदार्थ जफत गरी नष्ट गरिएको छ । बजार अनुगमनलाई निरन्तरता दिइने कार्यालयले जनाएको छ । अनुगमनमा जिल्ला प्रशासन कार्यालय ,बेनी नगरपालिका ,उद्योग तथा पर्यटन कार्यालय ,जिल्ला प्रहरी कार्यालय,म्याग्दी उद्योग वाणिज्य महासंघ र पत्रकार महासंघ म्याग्दी शाखाका प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार