जलजला गाउँपालिकाको दोस्रो आवधिक योजनाको मस्यौदा तयार

  म्याग्दी न्युज संवाददाता

लामाखेत । पर्वतको जलजला गाउँपालिकाको दोस्रो पञ्चवर्षीय आवधिक योजनाको मस्यौता तयार भएको छ ।आवधिक योजना तयार पार्ने जिम्मेवारी लिएको परामर्शदाता प्रज्ञा रिसर्च एण्ड डेभलपमेन्ट प्रा.ली. काठमाडौले सोमबार मस्यौदा प्रस्तुत गरेको हो । मस्यौदामा सरोकारवालाहरुको सुझाव संकलन गर्नका लागि छलफल पनि भएको हो ।

पहिलो आवधिक योजनाको उपलब्धीको जगमा टेकेर दोस्रो अवाधिक योजनाको मस्यौदा बनाएको र सरोकारवालाको सुझावको आधारमा अन्तिम रुप दिइने परामर्शदाता कम्पनीका लीलाधर सुवेदीले जानकारी दिनुभयो ।

आर्थिक, पूर्वाधार, सामाजिक, वन वातावरण तथा विपद् व्यवस्थापन र संस्थागत शुसासनका क्षेत्रमा पहिलो पञ्चवर्षीय योजनाको लक्ष्य र उपलब्धीलाई मुल्याङ्कन गरी अधुरा योजना तथा कार्यक्रमलाई पूर्णता दिन र नयाँ आवश्यकता सिर्जना भएका विषयलाई समावेश गरिएको छ ।

जलजला गाउँपालिकालाई कृषि क्षेत्रमा प्राथमिकता दिएर विकासका योजना तथा कार्यक्रम सञ्चालन गरिने मस्यौदामा उल्लेख छ । सामाजिक रुपान्तरण, शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर सुधार गरि पहुँच विस्तार, वातावरणमैत्री र दिगो पूर्वाधार विकास, प्रविधीमैत्री, शुसासनयुक्त र पारदर्शी गाउँपालिकाको परिकल्पना गरिएको छ ।

गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा विषय विज्ञहरुले प्रस्तुत गरेको मस्यौदाका विषयमा जनप्रतिनिधि, कर्मचारी, विषयगत समितिका सदस्यहरु, राजनीतिक दल र संघ संस्थाका प्रतिनिधिहरुले सझुाव दिनुभएको थियो ।

सरोकारवालाको सुझावको आधारमा अवधारणापत्र र लक्ष्य निर्धारण गरि आवधीक योजनाको मस्यौदालाई परामर्शदाताले पूर्णता दिएपछि आर्थिक वर्ष २०८१÷८२ देखि २०८५÷०८६ सम्मका लागि लागु गरिने प्रमुख प्रशासकीय अधिकृत फणिन्द्रप्रसाद आचार्यले बताउनुभयो ।

आवधिक योजनामा तथ्य र विवरणहरुलाई वास्तविक बनाउन परामर्शदातालाई सुझाव दिएका जनप्रतिनिधीहरुले पालिकाको हरेक योजना र कार्यक्रममा सोही योजनालाई आधार मान्ने प्रतिवद्धता जनाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार