बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकाले घुम्ति शिविर सञ्चालन गरेर अपाङ्गता भएकाहरुलाई गाउँमै परिचयपत्र र सहायता सामग्री वितरण गर्न थालेको छ ।
शारिरिक रुपमा अशक्त नागरिकको सहजताका लागि वडा स्तरमा पुगेर परिचयपत्र र सहायता सामग्री वितरण गरिएको हो । गाउँपालिकाको कार्यालय रहेको मुना पुगेर लिनुपर्ने सेवा सर्वसाधारणले आफ्नो घर नजिकै पाएका हुन् ।
धवलागिरी गाउँपालिका–६, मराङमा सोमबार भएको घुम्ति शिविर मार्फत ६ जना पुरुष र ४ जना महिलालाई अपाङ्ग परिचयपत्र वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदीले बताउनुभयो ।
२ वटा (क), ३ वटा (ख), ४ वटा (ग) र १ वटा (घ) बर्गको अपाङ्ग परिचयपत्र वितरण गर्नुका साथै २१ जनाको स्वास्थ्य परिक्षण गरिएको उहाँले बताउनुभयो । यसैगरी १४ थान एल स्टिक, २ थान ह्वाइट केन, १ थान कम्बोट चियर र १ थान बैशाखी वितरण गरिएको छ ।
गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगर, प्रमुख प्रशासकीय अधिकृत सुवेदी, बेनी अस्पतालका चिकित्सक डा. रोशन आचार्य र वडा अध्यक्ष राजाराम सुवेदीले परिचयपत्र र सहायता सामग्री वितरण गर्नुभएको थियो ।
अन्य वडामा पनि घुम्ति शिवर मार्फत अपाङ्गता परिचयपत्र र सहायता सामग्री वितरण गरिने उपाध्यक्ष पुनले बताउनुभयो । अपाङ्गता भएकाहरुबाट माग संकलन गरेर आवश्यक सहायता सामग्री वितरण गरिएको उहाँले बताउनुभयो ।