होटल व्यवसायीलाई सेवा प्रवाहसम्बन्धी तालिम

  म्याग्दी न्युज संवाददाता

बेनी । कालिगण्डकी कोरिडोरमा सञ्चालित होटल व्यवसायीहरूको सीप र दक्षता अभिवृद्धि गरी स्वच्छ र पर्यटकमैत्री सेवा प्रवाहका लागि सहयोग पुर्‍याउन तालिमको आयोजना गरिएको छ ।होटल व्यवसायी महासंघ गण्डकी प्रदेश र नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको संयुक्त आयोजनामा कोरिडोर क्षेत्रमा पर्ने पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङमा सञ्चालित होटल व्यवसायी, होटलमा कार्यरत कामदार र कर्मचारीहरूको क्षमता अभिवृद्धि गरी गुणस्तरीय सेवा प्रवाह गर्न अभिप्रेरित गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको हो ।

गलेश्वरस्थित होटल याकमा दुई दिनसम्म सञ्चालन हुने ‘स्वच्छ र पर्यटकमैत्री सेवा प्रवाहसम्बन्धी’ तालिमको उद्घाटन गर्नुहुँदै बेनी नगरपालिकाका प्रमुख सुरत केसीले तालिमले कोरिडोर क्षेत्रमा सञ्चालनमा रहेका होटल व्यवसायीहरूको क्षमता अभिवृद्धि भई गुणस्तरीय सेवा प्रवाहमा सुधार आउने विश्वास व्यक्त गर्नुभयो ।पछिल्लो समय मुस्ताङ भ्रमणमा आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको र कोरिडोर क्षेत्रमा सुविधा सम्पन्न होटलहरु खुल्ने क्रम पनि बढेको बताउँदै उहाँले होटल व्यवसायीले पर्यटकलाई गर्ने राम्रो स्वागत सत्कार र गुणस्तरीय सेवा प्रवाहले पर्यटक आगमनलाई बढाउने अपेक्षा व्यक्त गर्नुभयो ।

कालिगण्डकी कोरिडोर गण्डकी प्रदेशको लाइफलाइनका रूपमा विकास भएको र यहाँको पर्यटन विकासबाट रोजगारी सिर्जना भई देशको अर्थतन्त्रमा ठुलो भूमिका निर्वाह गर्ने हुँदा होटल तथा रेष्टुरेन्ट व्यवसायीहरूको क्षमता अभिवृद्धि गरी पर्यटक आगमनलाई थप वृद्धि गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको होटल व्यवसायी महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष अर्जुन चोखालले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘कालिगण्डकी कोरिडोर कोरला नाका देखि सुस्ता त्रिवेणी सम्म जोडिएको र पछिल्लो समय कोरिडोरमा धार्मिक पर्यटकको आगमन निकै बढेकाले गुणस्तरीय पर्यटकमैत्री सेवा प्रवाह गरी विश्वभर सकारात्मक सन्देश प्रवाह दिन आवश्यक छ ।’ तालिममा पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङका होटल व्यवसायी, कामदार र कर्मचारी गरी ६० जनाको सहभागिता रहेको छ । तालिमका सहभागीहरूलाई खाद्य स्वच्छता, सरसफाइ, पोसाक, पर्यटकमैत्री व्यवहार तथा आचरण, व्यवसायमा प्रविधिको प्रयोग, व्यवसायी र कर्मचारीबिचको सम्बन्ध, व्यवसायको प्रचारप्रसार र प्रवर्द्धन, स्थानीय उत्पादनको व्यवसायीकरण लगायतका विषयमा तालिम प्रदान गरिने आयोजकले जनाएका छन् ।

नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज पोखराका प्रिन्सिपल प्रकाश रेग्मी, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका अधिकृत ज्योति आचार्य, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका लेखा अधिकृत सागर श्रेष्ठ लगायतले तालिममा सहजीकरण गर्नुहुने होटल व्यवसायी महासङ्घ गण्डकी प्रदेशका महासचिव देवेन्द्र लम्सालले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार