कुहुँमा तीनदिने भाषणकला तालिम समापन

  म्याग्दी न्युज संवाददाता

बेनी । सार्वजनिक स्थानमा बोल्न नसक्दा ग्रामिण क्षेत्रमा अवसरबाट बन्चित हुनुपरेको म्याग्दीको मंगला गाउँपालिका–१,कुहुँमा आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन् । महिलालाई बोल्ने बानीको विकास गर्न मालिका सामुदायिक सिकाई केन्द्रको आयोजना तथा मंगला गाउँपालिकाको सहयोगमा आयोजित तीनदिने उद्घोषण, भाषणकला तथा नेतृत्व विकास तालिमा भाषणकलाको विकास महिलाका लागि अनिवार्य आवश्यकता रहेको बताइएको थियो ।


तालिम समापन कार्यक्रमका प्रमुख अतिथि मंगला गाउँपालिकाका प्रबक्ता एवम् वडा अध्यक्ष एकजित रोकाले समुदायमा पद अनुसारको जिम्मेबारी र विभिन्न सार्वजनिक कार्यक्रमहरुमा समेत भाषण गर्ने शैली राम्रो हुनेलाई अवसरको कुनै कमी नभएको बताउनुभएको थियो । व्यक्तित्व विकास सबैभन्दा ठूलो सम्पत्ति भएकाले निर्धक्कसँग आफ्नो कुरा राख्न सक्ने हुनु ठूलो उपलब्धी हुने वडा अध्यक्ष रोकाको भनाई थियो ।तालिममा सहभागीको तर्फबाट राकुमारी रोका र रिमा बानियाँले बोल्ने बानिको विकास नहुदाँ संघसंस्थामा नेतृत्व गर्ने अवसरबाट समेत बन्चित हुनुपर्ने अवस्थामा तालिमले आत्मबल बढेको बताउनुभएको थियो ।

मंगला–१ कुहुँ, पूर्णगाउँ, थाईवाङ, पौयूपाँटा लगायतका बस्तीबाट ३० जना महिला तथा विद्यार्थीको सहभागिता रहेको तालिममा सिकाई केन्द्रकी अध्यक्ष गौमती रोकाले महिलालाई भाषण गर्ने शैली र नेतृत्व विकास अति आवश्यक रहेको बताउनुभयो । एकै ब्यक्तिले लामो समयसम्म नेतृत्व गर्ने अवस्थाको अन्त्यका लागि महिलाहरु समेत निरन्तर सक्रिय हुनुपर्नेमा जोड दिनुभयो । तालिममा उद्घोषण, भाषणकला,नेतृत्व विकास अन्तरगत सैद्धान्तिक तथा व्यावहारिक ज्ञान र सिप, र भाषण कला, माइन्यूट लेखनका साथै सफल नेतृत्व कसरी हुने लगायत प्रयोगात्मक अभ्यास समेत गरिएको थियो । तालिमको उद्घाटन सत्रमा अध्यक्षता रोका, सञ्चालन सहजकर्ता रमिला पाइजाले गर्नुभएको थियो। तालिमकोनेपाल पत्रकार महासंघका उपाध्यक्ष हरिकृष्ण गौतम, कोषाध्यक्ष अमित विश्वकर्माले सहजीकरण गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार