अन्नपूर्ण आधार शिविरमा प्रथम आरोही फ्रान्सका मौरिस हर्गोजको शालिक

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा प्रथम आरोही फ्रान्सका मौरिस हर्जोगको शालिक राखिएको छ । अन्नपूर्ण आरोहण भएको ७४ वर्ष पुरा भएको अवसरमा अन्नपूर्ण हिमालका प्रथम पर्वतारोही हर्जोगको सालिक बनाएर आधार शिविरमा राखिएको हो ।

सन् १९५० जुन ३ मा हर्जोग र लुई लचेनलको टोलीले अन्नपूर्णको सफल आरोहण गर्नुभएको थियो । अन्नपूर्ण हिमाल आरोहण गर्ने पदमार्ग र आधारशिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका- ४,नारच्याङमा पर्छ । नारच्याङका स्थानीयवासीहरुले चन्दा सहयोग जुटाएर हर्जोगको शालिक बनाएर आधार शिविरमै लगेर राखेका हुन ।तामा र पित्तलबाट निर्मित ४० केजी तौल रहेको शालिक बनाउन र ढुवानी गरेर आधार शिविर सम्म पु¥याउन करिब  ६ लाख रूपैयाँ खर्च भएको मौरिस हर्जोग पदमार्गका अभियन्ता तथा नारच्याङका पर्यटन व्यवसायी तेज गुरुङले जानकारी दिनुभयो । गुरुङको नेतृत्वमा शालिक निर्माण अभियान समितिका पदाधिकारीहरुको टोलीले दुई दिनको पदयात्रा गरेर समुद्री सतहदेखि ४ हजार १९० मिटर उचाईमा शालिक स्थापना गरेका छन् । चन्दा संकलन गरेर   शालिक बनाइएकाे उहाँकाे भनाइ छ  ।

अन्नपूर्ण दिवसका अवसरमा गत सोमबार पोखरामा आयोजना गरिएको कार्यक्रममा नेपाल सरकारका पराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ र अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले शालिकको अनावरण गर्नुभएको थियो । फ्रान्सका हर्जोगले ७४ वर्षअघि अन्नपूर्ण हिमालको आरोहण गरेर कीर्तिमानसँगै नेपालको पर्वतारोहण क्षेत्रलाई विश्व माझ चिनाउनुभएको र उहाँको शालिक राखेपछि आरोहीको सम्मान संगै ऐतिहासिक पदमार्गको प्रचार प्रसारमा सहयोग पुग्ने अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अमृत सुवेदीले बताउनुभयो ।

आठ हजार मिटरभन्दा अग्लो हिमालमा पहिलो मानव पाइला परेका कारण अन्नपूर्णलाई जेठो हिमाल भनिन्छ । हर्जोगले आरोहणका लागि आधार शिविर जान प्रयोग गरेको पदमार्गलाई पछ्याउँदै अन्नपूर्ण गाउँपालिकाले नारच्याङदेखि मौरिस हर्जोग पदमार्ग निर्माण गरेको छ । अन्नपूर्ण र नीलगिरि हिमालको फेदीबाट बग्ने मिस्त्रीखोलाको किनारै किनार, अग्ला झरना, मनमोहक हिमश्रृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै आधार शिविर पुग्न सकिन्छ । नारच्याङदेखि हुमखोलासम्म २० किलोमिटर सडक र हुमखोलादेखि आधार शिविरसम्म १६ किलोमिटर दुरीको पदमार्गमा दुई दिनको पदयात्रापछि अन्नपूर्ण आधार शिविर पूग्न सकिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार