गलेश्वर, साउन १९ गते । म्याग्दीको प्रसिद्ध धार्मिक तथा ऐतिहासिक तीर्थस्थल गलेश्वरधाममा साउन महिनाको तेस्रो सोमबार भक्तजनको उल्लेख्य उपस्थिति देखिएको छ । भक्तजनले चढाएको भेटी तथा दानबाट एकै दिन ३ लाख ३३ हजार छ रुपैयाँ संकलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ ।
बेनी नगरपालिका–९ स्थित गलेश्वर शिवालय मन्दिरमा सोमबार संकलित भेटी मंगलबार बिहान कोषका पदाधिकारी, नेपाल प्रहरी, गलेश्वर आमा समूहका प्रतिनिधि तथा स्थानीयवासीको रोहवरमा गणना गरी सार्वजनिक गरिएको हो ।
कोषका कार्यालय सचिव तेजेन्द्रबहादुर खत्रीका अनुसार संकलित रकममध्ये तिन लाख पाँच हजार ९६१ रुपैयाँ भक्तजनले चढाएको भेटीबाट तथा २७ हजार ४५ रुपैयाँ रसिदमार्फत प्राप्त भएको हो ।
मन्दिरमा संकलित भेटीको मुचुल्का तयार गरी प्रहरीको सुरक्षामा राखिएको चाबी प्रहरी चौकीबाट ल्याई सबै सरोकारवालाको उपस्थितिमा रकम गणना गरिएको थियो। गणनापछि भेटी रकम सार्वजनिक गरिएको र त्यसपछि प्राप्त हुने छिटफुट भेटी प्रत्येक महिनाको १५ गते सार्वजनिक गर्ने व्यवस्था मिलाइएको कोषले जनाएको छ ।
यस वर्ष साउनमा चार वटा सोमबार परेकाले पहिलो र दोस्रो सोमबार भक्तजनको उपस्थिति अपेक्षाकृत कम रहेता पनि तेस्रो सोमबारदेखि दर्शनार्थीको संख्या उल्लेख्य रूपमा बढेसँगै भेटी संकलनमा पनि वृद्धि भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो ।
कोषका उपाध्यक्ष बमबहादुर पुनले प्रत्येक सोमबार संकलित भेटी अर्को दिन सार्वजनिक गर्ने परम्परा कायम रहेको जानकारी दिँदै धान रोपाइँको व्यस्तता तथा बृहस्पति अस्त (अन्ध) अवधिमा शुभकार्य नगर्ने धार्मिक मान्यताका कारण सुरुका सोमबार भक्तजनको चहलपहल कम भए पनि तेस्रो सोमबार धार्मिक आस्थालुहरूको आगमन उल्लेख्य रूपमा बढेको बताउनुभयो ।
कालीगण्डकी नदीको किनारमा अवस्थित गलेश्वरधाम नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै विशाल शिलामाथि रहेको नेपालको प्रसिद्ध धार्मिकस्थलमध्ये एक हो । मन्दिरभित्र स्वयम्भू ज्योतिर्लिङ्गेश्वर महादेव विराजमान रहेको धार्मिक विश्वास छ । मनोकामना पूरा हुने जनविश्वासका कारण मुक्तिनाथ जाने तथा फर्किने हजारौँ भक्तजनले हरेक वर्ष गलेश्वरधाममा दर्शन गर्ने गरेका छन् ।














