पोखरा । पत्रकारितामा लामो समयदेखि सक्रिय दुई पत्रकार सातौँ ‘कञ्चन पत्रकारिता पुरस्कार-२०८३’ बाट सम्मानित भएका छन् । बिहिबार फोनिज गण्डकीले आफ्नो २७औँ स्थापना दिवसका अवसरमा पोखरामा आयोजना गरेको पुरस्कार अर्पण समारोहमा कास्कीका पत्रकार खेम सारु मगर तथा स्याङ्जाका पत्रकार गोपाल बहादुर जिटीलाई कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ, पुरस्कारदाता बिमलमान गुभाजूलगायतले जनही २५ हजार रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गरिएको हो ।

समाजसेवी तथा व्यवसायी बिमलमान गुभाजूले आफ्ना स्वर्गीय बुवा वेदमान गुभाजू र आमा नेत्रकुमारी गुभाजूको स्मृतिमा स्थापना गरेको उक्त पुरस्कार हरेक वर्ष पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्वलाई प्रदान गरिँदै आएको फोनिज गण्डकीले जनाएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी गुरुङले प्रशासन र सञ्चारमाध्यमबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले संवेदनशील विषयमा तथ्यपरक, सन्तुलित र जिम्मेवार पत्रकारिताको आवश्यकता औँल्याउँदै आगामी दिनमा पनि पत्रकारिता क्षेत्रसँग निरन्तर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पुरस्कार ग्रहणपछि सारु मगरले करिब तीन दशक लामो पत्रकारिता यात्राको मूल्यांकनस्वरूप प्राप्त सम्मानले थप जिम्मेवारी र ऊर्जा प्रदान गरेको प्रतिक्रिया दिनुभयो । यस्तै जिटीले पत्रिका वितरणबाट सुरु भएको आफ्नो पत्रकारिता यात्रामा यो सम्मान प्रेरणादायी उपलब्धि भएको बताउनुभयो ।

सोही अवसरमा प्रमुख जिल्ला अधिकारी गुरुङ, पोखरा प्रज्ञा प्रतिष्ठानका नवनियुक्त उपकुलपति तिलप्रसाद पुन ‘तिलक’, गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य कमलप्रसाद पौडेल, लेखक तथा प्रज्ञा प्रतिष्ठान कास्कीका परिषद् सदस्य रवीन्द्र माकाजू तथा पुरस्कारदाता बिमलमान गुभाजूलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा रवीन्द्र माकाजूले स्वर्गीय वेदमान र नेत्रकुमारी गुभाजूको योगदानबारे प्रकाश पार्नुभएको थियो भने फोनिज गण्डकीका संघीय सल्लाहकार शान्ति गुरुङले सम्मानित पत्रकारद्वयको व्यक्तित्व र पत्रकारितामा पुर्याएको योगदानबारे परिचय गराउनुभएको थियो ।

सम्मानित पत्रकार सारूमगर सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, प्रादेशिक प्रसारण केन्द्र पोखरामा कार्यरत हुनुहुन्छ । स्याङ्जाका जिटी प्रमाण मिडिया ग्रुप प्रालिअन्तर्गतको प्रमाण न्यूज साप्ताहिक र प्रमाण अनलाइन लगायत बिभिन्न संचार माध्यममा दशकदेखि क्रियाशील रहँदै आएका छन् ।

यसअघि यस प्रतिष्ठित पुरस्कारबाट रुद्रबहादुर थापा मगर, शान्ति गुरुङ, उदयबहादुर अमात्य, हुमबहादुर तमु, दीपेन्द्र श्रेष्ठ, राम गुरुङ, राजेशचन्द्र राजभण्डारी, केवी राना मगर, आश गुरुङ, सुन्दरकुमार थकाली, कमला राना मगर तथा कैलाशबाबु श्रेष्ठ सम्मानित भइसकेका छन् । फोनिज गण्डकीकी अध्यक्ष खिमा गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव सुरज थापा मगरले गर्नुभएको थियो ।














