रणबाङ–दरबाङ सडक कालोपत्र योजना अलपत्र हुँदा सास्ती (तस्बिरहरू)

म्याग्दी । सडक कालोपत्र गर्ने ठेक्का लिएको ठेकेदार कम्पनीको लापरबाहीका कारण म्याग्दीको बेनी–दरबाङ सडक आयोजना अन्तर्गत तेस्रो खण्ड रणबाङ–दरबाङको कालोपत्र योजनाको काम अलपत्र परेको छ ।

जिल्लाको ‘लाइफलाइन’ मानिएको यो सडक कालोपत्र आयोजनाको ठेक्का विरुवा–क्याराभान जेभीले वि.सं. २०७६ जेठ ३१ गते लिएको थियो । ठेकेदारको अटेरीले ५ वर्षमा पनि आयोजनाले पूर्णता पाउन नसक्दा यात्रु, यातायात व्यवसायी र स्थानीयबासी सास्ती पाएका छन् ।

मङ्गला गाउँपालिका –२, रणबाङदेखि मालिकाको केन्द्र दरबाङसम्म ८ किलोमिटर सडक कालोपत्र गर्न ठेकेदार कम्पनी र पूर्वाधार विकास कार्यालय म्याग्दीविच २२ करोड ५७ लाख ९३२ रुपियाँमा ठेक्का सम्झौता भएको थियो । कार्यालयका अनुसार आयोजनाको अहिलेसम्म भौतिक प्रगति करिब ७२ प्रतिशत सम्पन्न भएको छ ।

सडक निर्माणको काम नहुँदा यात्रु र स्थानीयले सास्ती बेहोर्दै आएका छन् ।  दुर्घटनाको जोखिम र यातायात सञ्चालनमा समेत समस्या हुने गरेको रणबाङका श्रीराम पौड्यालले बताउनुभयो । सडक निर्माणको काम अलपत्र हुँदा धुलो र धुवाँले हैरान बनाउनुका साथै स्वास्थ्यमा समेत समस्या देखिन थालेको मालिका गाउँपालिका –६, तोलाबाङकी पूर्णकली बिकले गुनासो पोख्नुभयो ।

‘‘सडकको धुलो र धुवाँ उडेर घरको भान्छामा पस्छ । बिस्कुन सुकाउन पनि पाइएको छैन । धुलोकै कारण स्वास्थ्यमा समस्या आउने गरेको छ’’ दुखेसो पोख्दै उहाँले भन्नुभयो । पहिलो प्रभावित बाहेक रणबाङदेखि ढाँडखर्कसम्म सडक फराकिलो बनाएर नाली पर्खाल निर्माण गर्ने काम सकिएको छ ।

ठेकेदारको जिम्मामा पर्ने बाङ्गे पहिरो क्षेत्र पहिरोग्रस्त र जोखिमयुक्त छ । ‘‘सडक निर्माणको काम अधुरो, अधकल्चो भएर रोकिएको छ । जसलेगर्दा हिउँदको समयमा धुलाम्मे र बर्षातको समयमा हिलाम्मे सडकमा जोखिमपूर्ण यात्रा गर्नुपरेको छ’’ दुखुका एलिश रोकाले भन्नुभयो ।

सडक आयोजनामा निर्माण व्यवसायीलाई पटक–पटक ताकेता गरे पनि अटेरी गरेको पूर्वाधार विकास कार्यालय म्याग्दीका इन्जिनियर अर्जुन शर्माले बताउनुभयो । ‘‘ठेक्का लिएको लामो समय बितिसक्यो । पहुँचको आधारमा  निर्माण व्यवसायीले म्याद थपेर काम गर्दैनन’’ उहाँले भन्नुभयो । फोन नउठाउने विरुवा–क्याराभान जेभीका सञ्चालक चन्द्र थकालीलाई पत्र काटेर ताकेता गरेको कार्यालयले जनाएको छ ।

निर्माण व्यवसायीले ४ किलोमिटरमा सबबेस राखिसकेका छन् । मङ्गला, मालिका र धवलागिरी गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने २४ किलोमिटर दूरिको यो सडक वि.सं. २०६३ मा मार्ग खुलेको थियो । बागलुङको तमानखोला गाउँपालिकाका बासिन्दाले पनि प्रयोग गर्ने गर्दछन् । सो खण्डको कालोपत्र योजनाको लागि बजेट अभाव नभएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार