प्रकाश माविमा स्मार्ट बोर्डबाट अध्यापन , पुरस्कारको रकमबाट ‘इन्टरएक्टिभ टचस्क्रिन स्मार्ट बोर्ड’ जडान

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दीको सदरमुकाम बेनीमा रहेको प्रकाश माध्यमिक विद्यालयले शिक्षण सिकाइमा आधुनिक प्रविधिको प्रयोग गर्दै ‘स्मार्ट बोर्ड’बाट अध्यापन गराउन सुरुआत गरेको छ । विद्यालयमा सञ्चालित कक्षा ११ र १२ को विज्ञान विषयको पठनपाठनमा स्मार्ट बोर्डलाई प्रयोगमा ल्याइएको हो ।

विद्यालयले दुईवटा स्मार्ट बोर्ड र आवश्यक उपकरणको खरिद गरेर स्मार्ट बोर्डबाट पठनपाठन गराउने कार्यको सुरुआत गरेको विद्यालयका प्रधानध्यापक लेखबहादुर हमालले जानकारी दिनुभयो । उहाँका अनुसार , गत वर्ष बेनी नगरपालिकामा कार्यसम्पादन मूल्यांकनमा प्रथम भएपछि नगरपालिकाबाट प्राप्त गरेको तीन लाख रूपैयाँ पुरस्कार रकमबाट दुई लाख १८ हजार खर्च गरेर एउटा स्मार्ट बोर्डसहित स्ट्याण्ड, ओपीएस बक्सलगायत सामग्री गरिद गरिएको छ ।

विद्यालयले पहिलो पटक प्रयोगमा ल्याएको स्मार्ट बोर्डको आइतवार बेनी नगरपालिकाका मेयर सुरत केसीले सुभारम्भ गर्नुभयाे । मेयर  केसीले शिक्षण सिकाईलाई समय सापेक्ष रुपमा प्रविधि र व्यवहारिकतामा जोड्नुपर्ने बताउँदै प्रकाश माविले स्मार्ट बोर्डबाट अध्यापन गराउन सुरु गरेको कार्यले विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सहयोग पुग्ने बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिकृष्ण श्रेष्ठले समेत व्यक्तिगत रूपमा एक लाख ६० हजार खर्च गरेर एक थान स्मार्ट बोर्ड खरिद गरी विद्यालयलाई उपलब्ध गराउनुभयएको छ ।विद्यालयमा दुईवटा स्मार्ट बोर्ड भएपछि विज्ञान विषयमा पठनपाठन हुने कक्षा ११ र १२ मा यसै स्मार्ट बोर्डबाट अध्यापन गराउन थालिएको प्रअ हमालले बताउनुभयो ।कक्षा १२ सम्म पठनपाठन हुने यस विद्यालयमा १ हजार १५० बढी विद्यार्थी अध्ययरत रहेका छन् । वि.सं. २०६६ सालदेखि जिल्लामै पहिलो पटक विज्ञान विषयमा कक्षा ११ र १२ मा पठनपाठन गराउन सुरु गरेको विद्यालयमा अहिले कक्षा १२ मा ३० जना र कक्षा ११ मा २५ जना भर्ना भैसकेको र भर्ना हुने क्रम जारी रहेको विद्यालयका सहायक प्रधानध्यापक विनय श्रेष्ठले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार