कार्यसम्पादनमा अन्नपूर्णको नारच्याङ र भुरुङ्ग–तातोपानी स्वास्थ्य चौकी उत्कृष्ट

  म्याग्दी न्युज संवाददाता

पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिका अन्तर्गतका स्वास्थ्य चौकीहरु मार्फत आर्थिक वर्ष २०८०/०८१ मा सञ्चालित कार्यक्रमहरुको समिक्षा गरिएको छ ।पोखरेबगर स्थित गाउँपालिकाको कार्यालयमा आइतबार र सोमबार सञ्चालन भएको समिक्षा कार्यक्रममा गत आर्थिक वर्षमा स्वास्थ्य शाखा, स्वास्थ्य चौकी र सामुदायिक स्वास्थ्य इकाई हरु मार्फत प्रभाव भएका सेवा र सञ्चालन गरिएका गतिबिधिहरुको समिक्षा गरिएको हो ।

कार्यक्रम कार्यान्वयनको उपलब्धी, चुनौति र समाधानका उपायका साथै चालु आर्थिक वर्षका कार्यक्रमको विषयमा स्वास्थ्यकर्मी र जनप्रतिनिधीहरुबीच छलफल समेत भएको स्वास्थ्य शाखाका संयोजक समुन्द्र बरुवालले बताउनुभयो ।समिक्षा कार्यक्रममा कार्यसम्पादनका आधारमा गत आर्थिक वर्षमा नारच्याङ र भुरुङ्ग तातोपानी स्वास्थ्य चौकी प्रथम, घार स्वास्थ्य चौकी दृतीय र दाना स्वास्थ्य चौकी तृतीय भएको घोषणा गर्दै सम्मान गरिएको थियो ।

यसैगरी आधारभूत न्युनतम सेवा प्रवाह मापदण्डको आधारमा जिल्ला प्रथम भएको शिख स्वास्थ्य चौकी (८९ प्रतिशत), जिल्ला दृतीय भएको भुरुङ्ग–तातोपानी स्वास्थ्य चौकी (८४ प्रतिशत)र तृतीय घार स्वास्थ्य चौकी (८२ प्रतिशत)लाई पनि सम्मान गरिएको थियो ।गत आर्थिक वर्षमा लक्षित उमेर समुहका सबैले खोप लगाएको र घरमा प्रसुति हुनेको संख्या शून्य कायम हुनुलाई अन्नपूर्ण गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा उपलब्धी मानेको छ । भुरुङ्ग तातोपानी स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा शुरु गरिएको र दाना स्वास्थ्य चौकीको भवन निर्माणाधिन रहेको छ ।

चालु आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रमा प्राथमिकता दिएर रु ९१ लाख बजेट बिनियोजन गरेको गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो । स्वास्थ्य सचेतनाका लागि प्रत्येक विद्यालयमा स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन गर्न पनि बजेट व्यवस्थापन भएको गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुनले बताउनुभयो ।कार्यक्रममा अन्नपूर्णका ८ वटै वडामा रहेका स्वास्थ्य चौकीका प्रमुख, जनप्रतिनिधी, स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भुवन ठकुराठी, वनहार्टका प्रतिनिधी लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार