जनसमाज , जनसाहारा र आयोजक ए विजयी

  म्याग्दी न्युज संवाददाता

महभीर। म्याग्दीको मालिका गाउँपालिका-४, महभीर स्थित महखानी युवा क्लबले आयोजना गरेको दसैं मेला सम्पन्न भएको छ । क्लब सचीव याम गुरुङका अनुसार, मंगलबार सम्पन्न खेलमा जनसमाज युवा क्लबले जनसाहारा युवा क्लबलाई पराजित गर्दै क्लब स्तरीय भलिबलको उपाधी हात पारेको छ । त्यस्तै जनसाहारा युवा क्लबले फ्युचर स्टार युवा क्लबलाई पराजित गरि महिला भलिबल र आयोजक ए टिमले परिवर्तन युवा क्लबलाई पराजित गर्दै प्रौढ भलिबल प्रतियोगिताको उपाधि हात पार्न सफल भएका छन् ।

मेला आर्थिक संयोजक दिल पुन मगरका अनुसार , क्लब स्तरीय प्रतियोगिताका बिजेता र उपबिजेताले क्रमशः ६५ हजार र ३५ हजार सहित ट्र्फी ,मेडल र प्रमाणपत्र हात पारेका छन् । प्रौढ भलिबलका बिजेता र उपबिजेताले ३० हजार र १५ हजार सहित ट्रफी ,मेडल र प्रमाणपत्र हात पार्न सफल भएका छन् । भने महिला भलिबलका बिजेता र उपबिजेताले २० हजार र १० हजार रुपैयाँ सहित ट्रफी ,मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

वडा सदस्य गर्भे गुरुङ ,क्लब अध्यक्ष चिन्तामनी गुरुङ लगायतले पुरस्कार वितरण गर्नुभएको थियो । प्रतियोगितामा क्लब स्तरीय पुरुष भलिबलतर्फ १६ , प्रौढतर्फ ६ र महिला तर्फ ६ टिमले सहभागिता जनाएका थिए । जनसमाज युवा क्लबका प्रकाश नेपाली ,प्रौढतर्फ परिवर्तन युवा क्लबका दोमन घर्ती मगर र जनसाहारा युवा क्लबकी अनिशा रोका मगर उत्कृष्ट खेलाडी घोषित भई पुरस्कृत हुनुभएको थियो । क्लब अध्यक्ष गुरुङले बडा दसैंको अवसरमा कला संस्कृतिको जगेर्ना , प्रतिभाको पहिचान र खेलकुद क्षेत्रको प्रवर्द्धन गर्ने उदेश्यले मेला आयोजना गरिएको बताउनुभयो । उहाँले प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने सबै सहयोगदातालाई धन्यवाद व्यक्त गर्नुभयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार