चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरूद्ध चितवनमा पनि जाहेरी परेको छ।
साहरा चितवन बहुउद्देश्यीस सहकारी संस्थाका बचतकर्ताहरूले लामिछाने र छविलाल जोशीसहितका १० जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा पूरक जाहेरी दिएका हुन्।
उक्त जाहेरी लिएर अनुसन्धान सुरू गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी गौतम मिश्रले बताउनुभयो।
साहरा चितवन सहकारीबाट गोर्खा मिडिया नेटवर्क प्रालिमा १० करोड ८० लाख १८ हजार १५१ लाख रुपैयाँ गएको देखिएको छ।
लामिछाने र जोशी गोर्खा मिडियाका सञ्चालक थिए। अन्य ८ जना जिबी राईले सञ्चालन गरेका विभिन्न कम्पनीका सञ्चालक तथा सेयरधनी हुन्।
साहारा सहकारीबाट नेचर हर्बस इन्टरनेशनल प्रालिमा ९ करोड ७३ लाख ८१ हजार ५९७, जीबी ग्रुप अफ कम्पनीमा ९ करोड २७ लाख ५० हजार ८५४ र स्प्रिङ उड रियल स्टेट ६ करोड ८१ लाख ८८ हजार ७०३ र नेचर नेस्ट प्रालिमा ६ करोड ५१ लाख १० हजार ३२२ गरेर ४३ करोड १४ लाख ४९ हजार ९२७ रुपैयाँ गएको भन्दै पीडितले पुरक जाहेरी दिएका हुन्।
यसअघि गत असोज ८ गते प्रहरीले साहरा सहकारीका पीडितले दिएको जाहेरीको आधारमा अनुसन्धान गरी सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो।
सरकारी वकिलको कार्यालयले जिबी राईलगायत १७ जनाविरूद्ध सहकारी संस्थाको बचत हिनामिना गरेको अभियोगमा चितवन जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।
सोही मितिमा जिल्ला सरकारी वकिलको कार्यालय चितवनले साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाबाट गोर्खा मिडियामा गएको रकमबारे थप अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको थियो।
सहकारीबाट रकम गएको भनिएको गोर्खा मिडियाको ग्लोबल आइएमई बैंकको खातामा जम्मा भएको ४७ करोड रुपैयाँ बराबरको कारोबार के कसरी, को–कोसँग भएको हो सोको विवरण प्राप्त नदेखिएकाले सो सम्बन्धमा थप अनुसन्धान गर्न सरकारी वकिलको कार्यालयले चितवन प्रहरीलाई निर्देशन दिएको थियो।
साथै सरकारी वकिलको कार्यालयले गितेन्द्रबाबु राई (जिबी राई) समेत भएको ठगी मुद्दामा साहारा चितवन सहकारीबाट रकम गएको देखिएको सन्दर्भमा सहकारीबाट रकम गएको भनि खुल्न आएका कम्पनी तथा प्रालिहरूको समेत बैंक खाताको स्टेटमेन्टको सफ्ट कपीको विवरण नेपाल राष्ट्र बैंक तथा वित्तीय संस्था नियमन विभागसँग माग गरिएकोमा सोको विवरण प्राप्त हुन नसकेको भनेको थियो।
राईसहित सागर केसी, वीरबहादुर रानाभाट, हेमन्त रानाभाट, हेमन्त अधिकारी, छत्रमणि भट्टराई, भूपेन्द्र राई, अनन्तबाबु राई, आशिष आनन्द, देवेन्द्रबाबु राई, दिनेश रोका, दीपा न्यौपाने, शिवप्रसाद आचार्य, मनोज गुरूङ, तीर्थराज लामिछाने, कुमार रम्तेल, शरण विश्वकर्मा र थमन भन्ने थानबहादुर बुढा मगर उपर ठगीसम्बन्धी कसुरमा मुद्दा दर्ता भइसकेको छ।
उनीहरूमध्ये यसअघि कुमार रम्तेललाई कास्की प्रहरीले पक्राउ गरेको थियो। अदालतले कारागार चलान गरेका रम्तेललाई मात्रै चितवन झिकाएर प्रहरीले बयान लिएको छ। अन्य १६ मध्ये ११ जना फरार, ३ जना कारागारमा रहेको र ३ जना अनुपस्थित रहेको भनी मुद्दा दायर भएको थियो।
यो सहकारीका कुल बचतकर्ता ६ हजार ३ सय ३४ छन्। कुल बचत रकम ५२ करोड ३२ लाख ८५ हजार ३ सय ८ रूपैयाँ रहेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।
पहिले साहारा सहकारीका ४ सय ४६ जना बचतकर्ताले प्रहरीमा दिएको उजुरीका आधारमा प्रहरीले अनुसन्धान गरेर बुझाएको प्रतिवेदनका आधारमा अदालतमा मुद्दा दायर गरिएको थियो।
उजुरी दिनेहरूको ३७ करोड ६५ लाख ८४ हजार ५ सय ४६ रूपैयाँ सहकारीमा बचत थियो। उक्त बचत रकम साहारा चितवन सहकारीको एक मुख्य र दुई शाखा कार्यालयका जिम्मेवार व्यक्तिहरूले भरपाइ गर्नुपर्ने मागदाबी गरिएको थियो।
सहकारी ठगी र संगठित अपराध कसुरमा गत कात्तिक २ गते लामिछानेलाई रास्वपा केन्द्रीय कार्यालय च:मतिबाट पक्राउ गरेर प्रहरीले कास्की लगेको थियो। लामिछानेमाथि कास्की र रूपन्देहीमा बयानसमेत लिइएको थियो। Setopati