जलवायु परिवर्तनले गरिबी र सामाजिक असमानतालाई फराकिलो बनायो : पूर्वराष्ट्रपति भण्डारी

  म्याग्दी न्युज संवाददाता

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परिवर्तनले नेपाली समाजमा विद्यमान गरिबी र सामाजिक असमानतालाई थप फराकिलो बनाएको बताउनुभएको छ। बिहीबार त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो।

पूर्वराष्ट्रपति भण्डारीले पछिल्लो समय नेपालमा जलवायु परिवर्तनबाट परेको ठुलो असरले जनजीवन समेत प्रभावित बन्दै गएको उल्लेख गर्नुभयो । उहाँले जलवायु परिवर्तनकै कारण उत्पन्न अतिवृष्टि, अनावृष्टि, बाढी पहिरो, सुख्खा खडेरी जस्ता प्रकोपहरूले गर्दा गरिब किसान तथा विपन्न वर्गको जीविकोपार्जनमा प्रत्यक्ष असर परिरहेको बताउनुभयो। उहाँले जलवायु परिवर्तनका नकारात्मक प्रभावहरूलाई न्यूनीकरण गर्न अनुकूलन क्षमता वृद्धि गर्न आवश्यक रहेको बताउनुभयो। उहाँले अनुकूलन क्षमता वृद्धिको लागि अनुसन्धानमा आधारित सूचना र ज्ञानको आवश्यकता रहेको उल्लेख गर्नुभयो।

पूर्वराष्ट्रपति भण्डारीले भूगोल केन्द्रीय विभाग र अन्य विदेशी विश्वविद्यालय मिलेर जलवायु परिवर्तनले कृषि क्षेत्रमा पारेको प्रभावका विषयमा गरेको अनुसन्धानले जलवायु अनुकुलन क्षमतामा प्रभाव पार्ने प्रमुख तत्वहरुको पहिचान गर्दै सोहीअनुरुप अनुकूलनमा दिगो र प्रभावकारी उपायहरूको अवलम्बन गर्न सहयोग पुग्ने दाबी गर्नुभयो।

उहाँले भन्नुभयो‘जलवायु परिवर्तनले हाम्रो समाजमा विद्यमान गरिबी र सामाजिक असमानतालाई समेत थप फराकिलो बनाएको छ । जलवायु परिवर्तनकै कारण उत्पन्न अतिवृष्टि, अनावृष्टि, बाढी पहिरो, सुख्खा खडेरी जस्ता प्रकोपहरूले गर्दा गरिब किसान तथा विपन्न वर्गको जीविकोपार्जनमा प्रत्यक्ष असर परिरहेको छ ।’

पूर्वराष्ट्रपति भण्डारीले विभिन्न देशहरू सम्मिलित भई गरिएको अध्ययनले किसानलाई जलवायु परिवर्तनका कारण देखिएको चुनौती सामना गर्न सहज हुने अपेक्षा रहेको बताउनुभयो। रातोपाटी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार