![](https://myagdinews.com/wp-content/uploads/2025/02/inbound7229666026113471805.jpg)
काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले राजनीति समाजका समस्या समाधान गर्ने साधन भएको बताउनुभएको छ। पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले वैकल्पिक राजनीतिका निम्ति वैकल्पिक राजनीतिक शक्तिहरूको बीचमा नै विमर्श हुनुपर्ने बताउनुभयो ।
‘अब यो नयाँ युगको नयाँ वैकल्पिक राजनीतिको निम्ति वैकल्पिक राजनीतिक शक्तिहरुको बीचमा नै विमर्श हुनुपर्छ । त्यसको निम्ति एउटा दिशाबोध हुनुपर्छ । कसरी जाने भन्ने । किनभने राजनीति भन्नेबित्तिकै समाजका समस्या समाधान गर्ने साधन हो,’ उहाँले भन्नुभयो ।
अध्यक्ष भट्टराईले बेइमान र ठगहरूको बिगबिगी भएको समाजमा सोझो इमान्दार र सरल ढंगले अघि बढ्न नसक्ने अवस्था रहेको बताउनुभयो। ‘बेइमान र ठगहरूको बिगबिगी भएको समाजमा सोझो इमान्दार र सरल ढंगले जान्छु भन्ने सोच्नुभयो भने तपाईंलाई निराश बनाइहाल्छन् । चारपट्टिबाट घेरेर निराश बनाउँछन्,’ उहाँले भन्नुभयो ।
अध्यक्ष भट्टराईले वैकल्पिक राजनीति रूपान्तरणकारी राजनीति भएको उल्लेख गर्दै भन्नुभयो, ‘राजनीति भनेको ठीक र बेठीकको बीचको निरन्तर द्वन्द्व हो । एउटा सत्तामुखी राजनीति, ढाँट, छल, तिक्डम, जालझेल गरेर जसरी हुन्छ, चुनाव जित्ने, सत्तामा जाने, राज्यको दोहन गर्ने भन्ने छ । त्यो पुरानो राजनीति हो । हामीले भनेको रूपान्तरणकारी राजनीति हो । जसले समाजमा खुसी र समृद्ध बनाउँदै जाने हो । नयाँ युगको नयाँ कार्यभार वैकल्पिक राजनीतिको औचित्य र आधार हुनेछ ।’ कान्तिपुर