![](https://myagdinews.com/wp-content/uploads/2025/02/IMG_3305-800x533.jpg)
बेनी । म्याग्दीका नेकपा (माओवादी केन्द्र) र नेत्रविक्रम चन्द् नेतृत्वको (नेकपा)ले संयुक्त रुपमा ‘जनयुद्ध’ दिवस मनाउने भएका छन् । बेनी स्थित नेकपाको पार्टी कार्यालयमा बुधबार दुई वटै पार्टीका नेताहरुले संयुक्त रुपमा पत्रकार सम्मेलन गरेर फागुन १ गते बिहिबारको ३० औ जनयुद्ध दिवसलाई संयुक्त रुपमा मनाउन लागिएको जानकारी गराएका हुन् ।
तत्कालीन नेकपा माओवादीले राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापनाको मुद्दा सहित वि.स. २०५२ फागुन १ गते शसस्त्र युद्ध शुरु गरेको थियो । माओवादी घटक दलहरुले हरेक वर्ष फागुन १ गतेलाई छुट्टा÷छुट्टै कार्यक्रम गरेर जनयुद्ध दिवसको रुपमा मनाउदै आएका छन् । माओवादी घटकहरुलाई एक हुन दवाव र सन्देश दिनका लागि जिल्ला स्तरमा दुई वटा दलले संयुक्त रुपमा जनयुद्ध दिवस मनाउन लागिएको माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा म्याग्दी जिल्ला संयोजक गोविन्द पौडेलले बताउनुभयो ।
नेकपाका म्याग्दी–मुस्ताङ इञ्चार्ज ध्रुब घिमिरे (राजन सी)ले बिचार मिल्ने पार्टीहरुसँग सहकार्य गर्ने नीति अनुसार म्याग्दीमा माओवादी र नेकपाले संयुक्त रुपमा जनयुद्ध दिवस मनाउन लागेको बताउनुभयो ।माओवादीमा आएको विभाजनका कारण अहिलेको ब्यवस्था नरुचाउने, दलाल, पुजिवादी र निराशावादी शक्ति हावी भएको घिमिरेको भनाइ थियो ।
दिउँसो नेकपा माओवादी केन्द्रको महारानीथान स्थित पार्टी कार्यालयमा जनयुद्ध दिवसको अवसरमा शुभकामना आदानप्रदान, शहिदको तस्विरमा माल्र्यापण र बिहिबार साँझ बेनीको सहिद चोकमा दिप प्रज्वलन कार्यक्रम गरिने नेकपा म्याग्दीका सेक्रेटरी गोविन्द सिले बताउनुभयो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र म्याग्दीका संयोजक सेरबहादुर केसीले चुनाव लड्नु र सरकारमा जानु मात्र माओवादीको लक्ष्य नभएको भन्दै सामाजिक रुपान्तरण र आर्थिक सम्बृद्धिका लागि सुसासनको मुद्दा लिएर माओवादी आन्दाेलनकाे रूपमा जनतामाझ आएको बताउनुभयो ।