
गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९,गलेश्वरमा प्रेस प्रतिनिधि प्रमाणपत्र वितरण तथा अनलाइन सञ्चार माध्यम दर्ता सम्बन्धी घुम्ती शिविर र दुर्गम क्षेत्रमा कार्यरत पत्रकारहरुको क्षमता अभिबृद्धि तालिम सुरु भएको छ । सुचना तथा प्रसारण विभाग काठमाडौंको आयोजना र नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको समन्वय तथा सहकार्यमा म्याग्दी सहित बागलुङ ,पर्वत र मुस्ताङ जिल्लाका पत्रकार एवं सञ्चार माध्यमलाई लक्षित गरि आइतबारदेखि उक्त घुम्ती शिविर तथा तालिम सुरु भएको हो ।
उक्त कार्यक्रमको बेनी नगरपालिका नगर प्रमुख सुरत केसीले उद्घाटन गर्नुभयो । नगर प्रमुख केसीले रानधानी भन्दा बाहिरको दुर्गम जिल्लाका पत्रकार र सञ्चार माध्यमलाई तालिमले टेवा पुग्नेमा विश्वास व्यक्त गर्नुभयो । राजनीतिक, आर्थिक, सामाजिक सांस्कृतिक घटनाको यथार्थपरक सूचना जनतालाई दिनु पत्रकारको कर्म भएको भन्दै उहाँले जुनसुकै विषय पनि समाचार हुने तर त्यसको उठान गर्ने तरिकाले अर्थ राख्ने बताउनुभयो ।
कार्यक्रममा म्याग्दीका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल ,सुचना तथा प्रसारण विभागकी निर्देशक पुर्णिमा उपाध्याय , नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष प्रकाश पौडेल ,जिल्ला हुलाक कार्यालय म्याग्दीका कार्यालय प्रमुख रमेश थापा र विषय विज्ञ डाक्टर विजयप्रसाद मिश्रले पत्रकारिता पेशालाई समय र प्रविधिको विकाससँगै परिष्कृत गर्दै लैजानुपर्नेमा जोड दिनुभयो ।
महासंघ म्याग्दी शाखाका अध्यक्ष हरिकृष्ण गौतमले दुर्गम जिल्ला म्याग्दी माध नभई बागलुङ ,पर्वत ,मुस्ताङ लगायत जिल्लाहरुमा कार्यरत पत्रकार र सञ्चारगृहलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । उहाँले आफुहरुको आग्रह अनुसार म्याग्दीमा शिविर र तालिम सञ्चालन गर्न आयोजना गरेर सहयोग गरेको भन्दै सुचना तथा प्रसारण विभागलाई धन्यवाद दिनुभयो । तालिम र शिविरले ठुलो टेवा पुग्ने बताउनुभयो ।तालिममा तीस जना बढीले सभागिता जनाएका छन् । ५ गतेसम्म सञ्चालन हुने तालिमा विषय विज्ञ डाक्टर विजय प्रसाद मिश्रले प्रशिक्षण दिनुभएको छ । महासंघ म्याग्दी शाखाका सचिव ठाकुरप्रसाद आचार्यले उद्घाटन कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।पहिलो दिन केही प्रेस प्रतिनिधि प्रमाणपत्र समेत वितरण गरिएको छ ।