
बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–६,मराङलाई पुर्ण सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएको छ । आइतबार मराङमा गाउँपालिकाद्धारा आयोजित एक समारोहका बिच गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले पुर्ण सुनिश्चितता तथा दिगोपना मापदण्ड पुरा गरेको आधारमा मराङलाई पुर्ण खोप सुनिश्चित वडा घोषणा गर्नुभएको हो । यो सँगै यस वर्ष मराङ जिल्लामै पहिलो पुर्णखोप सुनिश्चित वडा घोषणा भएको छ ।
घोषणा कार्यक्रममा वडा अध्यक्ष राजाराम सुवेदी, जिल्ला समन्वय समिति सदस्य श्रीप्रसाद गर्बुजा ,गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सम्झना खाती क्षेत्री लगायतको उपस्थिती रहेको थियो । नेपाल सरकारले जारी गरेको पूर्ण खोप सुनिश्चितता निर्देशिका अनुसार वडा भित्र सर्वेक्षण गर्दा १६ देखि ५९ महिनाका ७२ जना बालबालिकाले पुर्ण खोप लगाएको आधारमा मराङलाई पुर्णखोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सम्झना खाती क्षेत्रीले जानकारी दिनुभयो ।
गाउँपालिका अध्यक्ष पुनले निरोगी हुनका लागि खोप अपरिहार्य रहेको बताउनुभयो । ‘भौगोलिक विकटता कारण धवलागिरीमा पूर्ण खोप कार्यक्रम चुनौतीपूर्ण रहे पनि मराङलाई जिल्लामै पहिलो पुर्णखोप सुनिश्चित वडा घोषणा गर्न सफल हुनु हाम्रो लागि ठुलो उपलब्धी हो ,’ अध्यक्ष पुनले भन्नुभयो । रोगको रोकथामका लागि खोपको अत्यन्तै आवश्यक रहेको उहाँको भनाइ थियो । स्वास्थ्य क्षेत्रमा सुधार गर्नका लागि गाउँपालिकाले पनि प्रथामिकता दिएको उहाँले बताउनुभयो । वडा भित्र कोही पनि बालबालिका खोपबाट वञ्चित नरहेको वडा अध्यक्ष सुवेदीले बताउनुभयो । आगामी दिनमा पनि नियमित खोप सुनिश्चतता गर्न आवश्यक रहेको वडा अध्यक्ष सुवेदीले बताउनुभयो ।
सात वटा वडा रहेका गाउँकाका अन्य सबै वडालाई पुर्णखोप सुनिश्चित घोषणा गर्ने तयारी रहेको छ । सोमबार वडा नम्बर ५ मल्कबाङलाई पूर्णखोप सुनिश्चित वडा घोषणा गरिने भएको छ । वडा अध्यक्ष सुवेदीको अध्यक्षता, मराङ स्वास्थ्य चौकीका प्रमुख मोहन गर्बुजाले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वास्थ्य चौकी अनमी साहाना शाहले स्वागत मन्तव्य राख्नुभएको थियो ।
\