हिदिमा भुमेपुजा मेला सञ्चालन हुँदै

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दीको मंगला गाउँपालिका–२,हिदिमा भुमे पुजा मेला –२०८२ संचालन हुने भएको छ । हिदि स्थित सिद्ध मालिका युवा क्लबको मुल आयोजना सन्तोषी आमा समुह, लालि गुँरास आमा समुह ,प्रगति आमा समुह र गणेश मन्दिर आमा समुहको सहआयोजनामा वैशाख २० गतेदेखि २९ गतेसम्म विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम संचालन हुने भएको हो ।

क्लब सचिव रोहित शेरपुञ्जाका अनुसार, पुरुष बास्केटबल ,महिला भलिबल ,प्रौढ भलिबल ,सोडान्स ,सांस्कृतिक कार्यक्रम तारो खेल र पुरुष भलिबल लगायत प्रतियोगिताहरु संचालन हुनेछन् । पुरुष बास्केटबलका विजेताले ६० हजार र ४० हजार रुपैयाँ,महिला भलिबलका विजेता र उपविजेताले क्रमश ३५ हजार र २० हजार ,तारोखेल प्रतियोगितामा विजयी र उपविजेता टिमले ४० हजार र २५ हजार रुपैयाँ तथा पुरुष भलिबलका विजेता र उपविजेता टिमले ६० हजार र ४० हजार रुपैयाँ नगद सहित ट्रफी मेडल र प्रमाणपत्र पाउनेछन् । यसैगरी सोडान्सका विजेता ,उपविजेता र सान्त्वना हुनेले क्रमश १२ हजार ,८ हजार र ५ हजार रुपैयाँ नगद सहित पुस्कार पाउनेछन् । पुरुष बास्केटबल र पुरुष भलिबल साविक गाउँ स्तरीय ,महिला भलिबल खुल्ला गाउँस्तरीय र प्रौढ भलिबलमा ३५ वर्ष उमेर माथिका खेलाडीले मात्र सहभागिता जनाउन पाउने खेलकुद अध्यक्ष भरत पुनले जानकारी दिनुभयो ।

प्रकृति पुजा भुमे पुजा ,स्थानीय कला संस्कृति ,खेलकुद क्षेत्रको विकास ,प्रवद्र्धन र प्रचारप्रसार एवं सामाजिक एकता र खेलाडीहरुबीच आपसी भाइचाराको सम्बन्ध स्थापित गर्ने उद्धेश्यले मेला संचालन गर्न लागिएको क्लब अध्यक्ष सोदिप पुर्जाले बताउनुभयो । मेलाको समाजसेवी उदय शेरपुञ्जाले उद्घाटन गर्नुहुने स्थानीय समाजसेवी इमन जुग्जालीले जानकारी दिनुभयो । भने मेलामा चर्चित खड्ग गर्बुजा , मोफसलका स्टार पप गायक सम्भोज भल्ल ,गायक कपिल पुन र लक्ष्य ब्यान्डको विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ ।साथै स्थानीय कलाकारको समेत प्रस्तुति रहने जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार