दग्नाम । म्याग्दीको रघुगंगा गाउँपालिका–४, दग्नाममा स्वर्गीय जमदार बसबहादुर गर्बुजा र स्वर्गीय रन गर्बुजाको स्मृतिमा चौतारोमा छाना तथा रेलिङ निर्माण गरिएको छ । ग्नामको गहिरिगाउँस्थित साठीकुरिया चौतारोमा निर्माण गरिएको संरचनाको बुधबार आयोजित एक कार्यक्रमबीच प्रमुख अतिथि थममाया गर्बुजाले रिबन काटेर उद्घाटन गर्नुभयो ।

स्वर्गीय दम्पतीको स्मृतिमा उहाँहरूको परिवारका तर्फबाट थममाया गर्बुजा, छोरा खिमबहादुर गर्बुजा, बुहारी दिलकुमारी गर्बुजा तथा नातिहरू ससिन र रसुमिन गर्बुजासहित परिवारको सहयोगमा चौतारोमा छाना र रेलिङ निर्माण गरिएको पारिवारिक स्रोतले जनाएको छ । हाल अमेरिकामा रहेका परिवारका सदस्यहरूको समेत सहयोगमा निर्माण सम्पन्न भएको संरचनाले स्थानीय बासिन्दा तथा यात्रुलाई विश्राम गर्न र घामपानीबाट ओत लाग्न सहज हुने अपेक्षा गरिएको छ ।

कार्यक्रममा परिवारका तर्फबाट शिरु गर्बुजाले स्वागत मन्तव्य व्यक्त गर्दै दिवंगत अभिभावकको स्मृतिमा सार्वजनिक उपयोगका लागि संरचना निर्माण गर्न पाउँदा खुसी लागेको बताउनुभयो । हाँले परिवारको सहयोग र सद्भावबाट निर्माण भएको चौतारो स्थानीय समुदायका लागि उपयोगी बन्ने विश्वास व्यक्त गर्नुभयो ।
जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक गुनबहादुर पुनले चौतारोमा छाना तथा रेलिङ निर्माणले स्थानीय बासिन्दा र यात्रुलाई प्रत्यक्ष लाभ पुग्ने बताउनुभयो । दिवंगत व्यक्तिको स्मृति सामाजिक कार्यमार्फत जीवन्त राख्ने प्रयास प्रशंसनीय रहेको उल्लेख गर्नुभयो । उहाँले निर्माण कार्यमा सहयोग गर्ने परिवारप्रति धन्यवाद व्यक्त गर्दै हिसाब–किताबसमेत सार्वजनिक गर्नुभएको थियो ।
वडा सदस्य राजकुमारी गर्बुजाले सार्वजनिक स्थलको संरक्षण तथा विकासमा समुदायको योगदान महत्वपूर्ण हुने बताउँदै आफ्ना पुर्खाको स्मृतिमा सार्वजनिक संरचना निर्माण गर्नु उदाहरणीय कार्य भएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा दग्नाम पुर्ख्यौली समूहका अध्यक्ष हिमलाल गर्बुजाले चौताराको ऐतिहासिक, सामाजिक तथा सांस्कृतिक महत्वबारे चर्चा गर्नुभयो । चौतारा परम्परागत रूपमा यात्रु तथा गाउँलेको विश्रामस्थल मात्र नभई भेटघाट, सुखदुःख साटासाट र सामाजिक सम्बन्ध जोड्ने साझा थलोका रूपमा स्थापित रहेको उहाँले बताउनुभयो ।
पुराना चौतारा तथा सार्वजनिक संरचना संरक्षणको अभावमा जीर्ण बन्दै गइरहेका बेला व्यक्तिगत तथा पारिवारिक पहलमा यसको संरक्षण र सुधार गर्नु महत्वपूर्ण कार्य भएको उहाँको भनाइ थियो । दिवंगत अभिभावकको सम्झनामा निर्माण गरिएको संरचनाले उहाँहरूको स्मृतिलाई पुस्तौँसम्म जीवित राख्न सहयोग पुग्ने उहाँले बताउनुभयो ।
पुर्ख्यौली समूहका अध्यक्ष हिमलाल गर्बुजाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन पुर्ख्यौली समूहका मिडिया प्रमुख जीतबहादुर गर्बुजाले गर्नुभएको थियो ।














