दिवंगत गर्बुजा दम्पतीको स्मृतिमा विद्यालयमा भेटघाट तथा छलफल कक्ष निर्माण

दग्नाम । म्याग्दीको रघुगंगा गाउँपालिका–४, दग्नामस्थित जनता माध्यमिक विद्यालयमा स्वर्गीय जमदार बसबहादुर गर्बुजा र उहाँकी धर्मपत्नी स्वर्गीय रन गर्बुजाको स्मृतिमा निर्माण गरिएको भेटघाट तथा छलफल कक्ष एक विशेष समारोहबीच शुक्रबार उद्घाटन गरिएको छ । विद्यालयको शैक्षिक तथा प्रशासनिक गतिविधिलाई थप व्यवस्थित बनाउने उद्देश्यले निर्माण गरिएको उक्त कक्ष रु. ८२ हजार २४० को लागतमा सम्पन्न भएको हो । निर्माण सम्पन्न कक्षको उद्घाटन प्रमुख अतिथि थममाया गर्बुजाले रिबन काटेर गर्नुभएको थियो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि गर्बुजाले आफ्ना दिवंगत अभिभावकको स्मृतिलाई समाजोपयोगी कार्यमार्फत सम्मान गर्न पाएकोमा आत्मसन्तुष्टि मिलेको बताउनुभयो । उहाँले विद्यालयमा निर्माण गरिएको संरचनाले स्वर्गीय दम्पतीको योगदानलाई पुस्तौँसम्म जीवित राख्ने विश्वास व्यक्त गर्दै शिक्षा क्षेत्रमा गरिएको लगानी नै समाजको दीर्घकालीन विकासको आधार भएको उल्लेख गर्नुभयो ।

स्वर्गीय जमदार गर्बुजाले विसं २०४१ देखि २०५१ सालसम्म विद्यालय व्यवस्थापन समितिको अध्यक्षका रूपमा रही विद्यालयको भौतिक तथा शैक्षिक विकासमा उल्लेखनीय योगदान पुर्‍याउनुभएको थियो । उहाँको नेतृत्वमा विद्यालयको विकासमा भएका योगदानको स्मरणस्वरूप परिवारले उहाँहरूकै सम्झनामा उक्त भेटघाट तथा छलफल कक्ष निर्माण गरेको हो ।

स्वर्गीय दम्पतीको स्मृतिमा श्रीमती थममाया गर्बुजा, छोरा खिम गर्बुजा, बुहारी दिलकुमारी गर्बुजा तथा नातिहरू ससिन र सुमिन गर्बुजाको सहयोगमा कक्ष निर्माण गरिएको विद्यालयले जनाएको छ ।

यसअघि पनि गर्बुजा परिवारले विद्यालयप्रति निरन्तर सहयोग गर्दै आएको छ। म्याग्दीकै कान्छो प्रस्तावित माध्यमिक विद्यालयका रूपमा सञ्चालन भइरहेको जनता माध्यमिक विद्यालयमा नेपाल सरकारबाट आवश्यक शिक्षक दरबन्दी उपलब्ध हुन नसकेपछि निजी स्रोतबाट शिक्षक व्यवस्थापन गर्नुपर्ने अवस्था सिर्जना भएको थियो । सोही कठिन परिस्थितिमा विद्यालय सञ्चालनलाई निरन्तरता दिन गर्बुजा परिवारले रु. १ लाख १० हजार ५०५ आर्थिक सहयोग प्रदानगर्नु भएको थियो । उक्त सहयोगले विद्यालयको शैक्षिक गतिविधि सञ्चालनमा महत्वपूर्ण टेवा पुगेको विद्यालय प्रशासनले जनाएको छ ।

कार्यक्रममा विद्यालयको विकासमा निरन्तर सहयोग पुर्‍याएको भन्दै स्मृति संरचना निर्माणमा सहयोग गर्ने गर्बुजा परिवारलाई सम्मानपत्रद्वारा सम्मान गरिएको थियो । साथै विद्यालयमा स्मार्ट बोर्ड खरिदका लागि आर्थिक सहयोग गर्ने विभिन्न सहयोगदाताहरूलाई समेत सम्मान गरिएको विद्यालयले जनाएको छ ।

विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि तथा भौतिक पूर्वाधार विकासमा समुदाय र दाताहरूको सहकार्य आवश्यक रहेको कार्यक्रममा सहभागी वक्ताहरूले जोड दिएका थिए । उनीहरूले दिवंगत गर्बुजा दम्पतीको स्मृतिमा निर्माण गरिएको भेटघाट तथा छलफल कक्षले विद्यालयको प्रशासनिक कार्य, बैठक तथा शैक्षिक छलफल सञ्चालनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्दै समाजसेवाको यस उदाहरणबाट अन्य व्यक्तिहरू पनि प्रेरित हुने अपेक्षा व्यक्त गरेका गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीतबहादुर गर्बुजाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षक खड्क गर्बुजाले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन प्रधानाध्यापक गुनबहादुर पुनले गर्नुभएको थियो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक, स्थानीय समाजसेवी तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार