म्याग्दी । विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत प्रकाशन तथा प्रसारण गर्न नहुने गोप्य फोटो तथा भिडियो फेक अकाउन्ट बनाई सामाजिक सञ्जालमा पोस्ट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । विद्युतीय अपराधसम्बन्धी प्राप्त जाहेरीका आधारमा अनुसन्धान गर्ने क्रममा बागलुङको तमानखोला गाउँपालिका–२ स्थायी ठेगाना भई हाल कास्कीको अन्नपूर्ण गाउँपालिका–२, नौडाँडामा बस्दै आएका ३२ वर्षीय मनिष रसाइली संलग्न रहेको खुलेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
रसाइलीलाई जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय कास्की तथा वडा प्रहरी कार्यालय बगर, कास्कीको समन्वयमा २०८३ साउन २८ गते साँझ करिब ६ बजे अन्नपूर्ण गाउँपालिका–२, नौडाँडाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिनुभयो ।
पक्राउ परेका रसाइलीलाई म्याग्दी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।















