
ढोरपाटन । हिमाली भूगोल, धार्मिक आस्था र मौलिक संस्कृतिको संगम मानिने बागलुङको ढोरपाटनमा जनैपूर्णिमाको अवसरमा भक्तजनको घुइँचो लागेको छ । ढोरपाटन नगरपालिका–९ स्थित प्रसिद्ध उत्तरगंगा ढोरबराह थानमा शुक्रबार बिहानैदेखि भक्तजन पूजा तथा दर्शनका लागि पुगेका हुन् ।

जनैपूर्णिमाको अघिल्लो दिनदेखि नै ढोरपाटन उपत्यकामा चहलपहल बढेको थियो । टाढाटाढाबाट आएका भक्तजनले उत्तरगंगा नदीमा स्नान गरी ढोरबराहको पूजा, आराधना र दर्शन गरेका छन् ।
ढोरबराहमा पुगेर भाकल गरे मनोकामना पूरा हुने धार्मिक जनविश्वास छ। भाकल पूरा भएपछि भेडाको पाठा बलि चढाउने परम्परा यहाँ लामो समयदेखि चलिआएको छ ।

जनैपूर्णिमाका दिन सयौँ भक्तजनले ढोरबराहमा पूजा तथा दर्शन गरेको ढोरपाटन नगरपालिका–९ का वडाध्यक्ष खिमबहादुर घर्तिमगरले बताउनुभयो । भाकलअनुसार भेडाको पाठासमेत बलि चढाइएको उहाँले उल्लेख गर्नुभयो ।

सडक सञ्जाल विस्तार भएसँगै ढोरबराह पुग्ने भक्तजनको संख्या हरेक वर्ष बढ्दै गएको छ । म्याग्दी, रुकुम, रोल्पा, प्यूठान, गुल्मी, पर्वतलगायत छिमेकी जिल्लाबाट मात्रै नभई देशका विभिन्न स्थानबाट श्रद्धालु ढोरबराहको दर्शनका लागि पुग्ने गरेका छन् । जनैपूर्णिमाका दिन धार्मिक विधिअनुसार स्नान, पूजा, धजा चढाउने तथा भाकल पूरा भएपछि बलि दिने कार्य हुने गर्दछ ।

उत्तरगंगा नदीको उद्गमस्थलमा ढोरबराहको थान रहेकाले यसलाई ‘उत्तरगंगा ढोरबराह’ भनिएको स्थानीयको भनाइ छ । ढोरबराह क्षेत्रमा सातमुले, बराह मूल र अपुता मूललगायत जलस्रोत रहेका छन् । सातमुलेलाई उत्तरगंगाको मूलसमेत मानिन्छ । धार्मिक विश्वासअनुसार यही स्थानबाट बाइसधारा निस्किएको मानिन्छ ।

बराह मूलमा रहेको बहरे गोरुलाई बराह देवताको प्रतीकका रूपमा पूजा गर्ने परम्परा छ । विशेषगरी सन्तान प्राप्तिको कामना गर्ने भक्तजनले बाइसधारामा स्नान गरी बहरे गोरुको पूजा गर्ने र २२ जोर धजा चढाउने चलन रहेको स्थानीय बताउँछन् ।

ढोरपाटन उपत्यका ढकमक्क फुलेका बेला बलि राजा प्रकट हुने र उनको स्वागतका लागि उत्तरगंगा मेला लाग्ने गरेको लोककथनसमेत पाइन्छ । काग भुसुन्डी नामका ऋषिले कागको रूप धारण गरी यही क्षेत्रमा बसेको धार्मिक मान्यता पनि स्थानीय समुदायमा प्रचलित छ ।

उत्तरवाहिनी भएकाले उत्तरगंगा नदीलाई पवित्र मानिन्छ । पितृलाई तर्पण दिन, मृतकका कपडा नदीमा बगाउन तथा सन्तान प्राप्तिको कामना गर्नसमेत भक्तजन यहाँ पुग्ने गरेका छन् ।

ढोरपाटन उपत्यकामा ढोरबराहसँगै रुद्रताल, छेन्टुङ गुम्बालगायत धार्मिक तथा पर्यटकीय स्थल छन् । छेन्टुङ क्षेत्रमा तिब्बती शरणार्थी समुदायको जनजीवन, संस्कृति र रहनसहन नजिकबाट अवलोकन गर्न सकिन्छ ।

उपत्यका पुगेका पर्यटक घोडामार्फत विभिन्न क्षेत्रको भ्रमण गर्ने गरेका छन् । प्राकृतिक सौन्दर्य, हिमाली भूगोल, स्थानीय संस्कृति र धार्मिक आस्थाका कारण ढोरपाटन आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ।

जनैपूर्णिमाको अवसरमा स्थानीय क्लब तथा युवाहरूले विभिन्न खेलकुद र सांस्कृतिक कार्यक्रमसमेत आयोजना गर्दै आएका छन् । यसले धार्मिक मेलालाई मात्रै सीमित नराखी स्थानीय कला, संस्कृति, मनोरञ्जन र सामाजिक सहभागितासँग जोड्ने गरेको छ ।
बागलुङको दोस्रो व्यापारिक केन्द्र बुर्तिबाङदेखि करिब ३२ किलोमिटर पश्चिममा रहेको ढोरपाटनमा जनैपूर्णिमाबाहेक अन्य समयमा पनि भक्तजन तथा पर्यटक पुग्ने गरेका छन् ।









































