थम्मन थापा
बागलुङ । गलकोट नगरपालिका ७ मल्म स्थित बामीया आँगाखेत जोड्ने झोलुङ्गे पुल निर्माण भएको छ । पुल निर्माण भए सँगै स्थानीयलाई आवत जावत गर्न सहजता भएको छ । हुलुवा खोलामा ६९ मीटर लामो पुल बनेपछि दीपज्योति आधारभूत विद्यालय, गलकोट इंग्लिश सेकेण्डरी स्कुल जाने विद्यार्थी सहित बामिया र आगाखेतका बासिन्दाहरु प्रत्यक्ष रुपमा लाभान्वित भएको पुल निर्माण समितिका अध्यक्ष रत्न बहादुर मल्लले जानकारी दिनुभयो । उहाँले भन्नुभयो त्यहाँ रहेको पुरानो पुल बर्खायाममा हूलुवा खोलामा आएको बाढीले बगाएपछि ओहोर दोहोर गर्न समस्या भएको थियो ।
३७ लाख ५० हजार रुपैयाँको लागतमा निर्माण भएको उक्त पुल निर्माण कार्यमा स्थानियले ८० हजार रुपैयाँ बराबरको जनश्रमदान गरेको पुल निर्माण समितिका सचिव नर बहादुर थापा मगरले बताउनुभयो । २० टन भार क्षमताको उक्त पुल निर्माण गर्न सामाजिक तथा प्राविधिक सहयोग बि वाई सी बागलुङले गरेको थियो ।
नवनिर्मित झोलुङ्गे पुलको कोषाध्यक्ष हुम कुमारी थापाले आय व्यय प्रस्तुत गर्नुभएको थियो । हुलुवा खोलामा आएको बाढीले पुरानो पुल बगाएर लगेपछि दीपज्योति आधारभूत विद्यालयमा जान आउन शिक्षक विद्यार्थीलाई निकै समस्या भएकोमा पुल निर्माण भए सँगै सहजता भएको गलकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले बताउनुभयो ।
कार्यक्रममा बोल्दै प्राविधिक नारायण प्रसाद डाँगीले विकासको पूर्वाधार मध्यको झोलुङ्गे पुल पनि समाजको महत्वपूर्ण सम्पति भएको हुँदा यसको संरक्षणमा समुदायको सक्रियता रहनु पर्ने उल्लेख गर्नुभयो । कार्यक्रमको सञ्चालन झोलुङ्गे पुल निर्माण समितिका सदस्य टेकनाथ शर्मा गौतमले गर्नुभएको थियो । नेपाल सरकारको क्षेत्रगत कार्यक्रम अन्तर्गत उक्त झोलुङ्गे पुल निर्माण गरिएको हो ।