गुल्मी । गुल्मी जिल्लाका दुई बेग्लाबेग्लै बैंक तथा वित्तीय संस्थामा करोडौं रकम हिनामिना भएको खुलासा भएको छ । जिल्लाको मालिका गाउँपालिका वडा नम्वर ७ घमिर भानुपोखरामा रहेको मेगा बैंकको शाखारहित बैंकिङ्ग कार्यक्रम र रुरुक्षेत्र गाउँपालिका वडा नम्बर ४ रानीवासमा रहेको नेपाल राष्ट्रिय बचत तथा ऋण सहकारी संस्थामा गरी करोडौं रकम हिनामिना भएको खुलेको हो ।
मेगा बैंकको शाखारहित बैंकिङ सेवा सञ्चालन गर्ने एजेन्टको रुपमा काम गर्देै आएका हरिनारायण लम्साल माघ १७ गतेदेखि सम्पर्कका आएका छैनन् । उनले कयौं व्यक्तिसँग पैसा लिएर नक्कली भौचर दिएको तर बैंक खातामा पैसा नै नचढाएर ठगी गरेको भेटिएको छ ।
अघिल्लो माघमा घमिरका पुर्णबहादुर बुढा मगरले लम्साललाई ५ लाख रुपैयाँ दिएका थिए । मेगा बैंकको खातामा राख्न भनेर दिएको उक्त रकम खातामा नभेटिएपछि लम्सालले ठगी गरेको खुलासा भएको हो ।
ठगीमा परेका बुढा मगरका छोरा खिमबहादुर बुढा मगर भन्छन– ‘हाम्रो बुबाले खातामा राख्न दिएको ५ लाखको भौचरको फोटोकपी लम्सालले दिएका छन तर खातामा पैसा चढाएको देखिएन ।’
लम्सालमार्फत् सो क्षेत्रका कयौं व्यक्तिले जम्मा गर्न दिएको पैसा पनि खातामा जम्मा नभएको उनको भनाई छ । खिमबहादुर भन्छन्, ‘अहिले कसैले ५० हजार भन्नुहुन्छ, ४ लाख रुपैयाँ जम्मा गरेको थिए भन्नुहुन्छ । कसैले २० लाख भन्नुहुन्छ । सबै ठगीनुभएको रहेछ ।’
घमिरकै भोटबहादुर दमाईले लम्साललाई राख्न दिएकोे ५० हजार रुपैयाँ पनि नक्कली भौचर बनाएर आफैले हिनाबिना गरेको पाइएको छ मालिका गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष वेदप्रसाद पन्थीले बताए । घमिरकै कालिका क्षेत्रीको ३ लाख , तुलसा घर्तीको ३० हजार, नातामा बुहारी पर्ने जमुना लम्सालको ११ लाख ६० हजार रुपैयाँ पनि बैकको खातामा नगरी ठगी गरेको पीडितको भनाई छ । दर्जनौं भौचरमार्फत् लाखौं रकम हिनामिना भएको पाएपछि तम्घास शाखाको ब्राञ्च म्यानेजर तेजेन्द्र कार्कीको टोली त्यहाँ पुगेर सो शाखारहित बैंकिङको कारोबार बन्द गराएको छ । कार्कीले के कति ठगी भयो भन्नेबारे चाहिँ खुलाएनन् । बैंकले सुचना नै प्रकाशित गरी लम्सालसँगको सम्झौता रद्द गरेको छ । स्थानीयवासीका अनुसार एक करोडभन्दा बढी रकम ठगी भएको छ ।
पुरुङकोट घर भएका लम्साल नेपाली काँग्रेसका तर्फबाट सो वडाका वडाध्यक्षका उम्मेदवार हुन् । उनले सो क्षेत्रमा मेडिकल पसल, मनिट्रान्सफर र कम्युनिकेशन कारोबार समेत गर्दै आएका थिए । उनले भानुपोखरामै ३ तले पक्की घर बनाउन सुरु समेत गरेका थिए । उनी सम्पर्कविहीन भएपछि केही दिनअघि परिवारले जिल्ला प्रहरी कार्यालय खोजतलास गर्नका लागि निवेदन नै दिएका छन् ।
रानीवासमा अर्को ठगी
उता गुल्मीकै रुरुक्षेत्र गाउँपालिकास्थित नेपाल राष्ट्रिय बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा पनि व्यवस्थापक द्रोर्णचाय ज्ञवालीलले त्यस्तै प्रकृतिको ठगी गरेका छन् । उनले ऋणीहरुले बुझाउनु पर्ने रकम आफ्नै खातामा मगाउने र सहकारी संस्थाको खातामा नबुझाई आफैँले रकम हिनामिना गर्ने गरेको भेटिएको छ । सञ्चालक समितिले गठन गरेको छानबिन समितिले माघ ७ गते बुुझाएको प्रतिवेदनमा यस्तो ठगी भएको उल्लेख गरिएको छ ।
ज्ञवालीले हालसडेढ करोड रुपैयाँ भन्दा बढी हिनामिना गरेको प्रतिवेदनमा उल्लेख छ । छानविन समितिको सिफारिस अनुसार सञ्चालक समितिले माघ ७ गते उनलाई पदमुक्त गरि आवश्यक कारबाहीको प्रक्रिया अघि बढाइएको जनाएको छ ।
ज्ञवालीले वर्षौं अघिदेखि यस्तो ठगी गर्दै आएका थिए । अघिल्लो वर्षदेखि सफ्टवेयर सिस्टमबाट कारोबार गर्न सुरु गरेपछि सो कर्तुत खुलासा हुन थालेको हो । रातोपाटीबाट