पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलका प्रेस संयोजक भरत कोइरालालाई प्रेस युनियन कास्कीले बधाई तथा शुभकामना दिएको छ ।नेपाल प्रेस युनियन केन्द्रीय पार्षद् कोइरालालाई मंगलबार युनियनले शुभकामना दिएको हो । युनियन कास्की अध्यक्ष नवीन सिग्देलले कोइराला प्रेस संयोजक हुँदा प्रेस युनियनको आकर्षण र उचाइ बढेको बताउनुभयो । प्रदेशको मन्त्री र मन्त्रालयसँग नजिक रहने हुँदा युनियनको विकासमा सहकार्य गर्दै अगाडि बढ्ने अपेक्षा गर्दै केही समस्या परेमा प्रेस युनियन सहकार्य गर्न तयार रहेको बताउनुभयो।
प्रेस युनियन केन्द्रीय उपाध्यक्ष रमेश पौडेलले सरकारलाई सही भूमिकामा पुर्याउन प्रेसको माध्यमबाट महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। पत्रकारका हकहित र पारिश्रमिकको विषयमा लाग्न पनि उहाँको आग्रह थियो ।
प्रेस संयोजक कोइरालाले अपेक्षा धेरै भए पनि सहकार्य गर्दै समस्या समाधान गर्दै जाने बताउनुभयो । आफूले जानेका सीप, दक्षता र क्षमता आधारमा प्रदेश सरकारको काम गर्दै जाने प्रतिबद्धता जनाउनुभयो। सबैको अपेक्षा अनुसार प्रदेश सरकारको बजेट नभएका कारण पनि सबै अपेक्षा पूरा गर्न नसक्ने कुराको इंगित गर्दै सकेसम्म सल्लाहमा काम गर्ने बताउनुभयो ।
आफूप्रति गरेको विश्वास चुक्न नदिने उहाँले प्रतिबद्धता पनि जनाउनुभयो ।कार्यक्रममा संस्थाका सल्लाहकार रवीन्द्र बास्तोला, गंगाधर पराजुली, पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारी, युनियन कास्की पूर्व अध्यक्ष हेमराज बराल लगायतले सफल कार्यकालको शुभकामना दिनुभयो ।






















