रुपन्देही । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लुम्बिनी प्रदेशसभाको बैठक बुधबार दोस्रो दिन पनि अवरुद्ध बनाएको छ । बैठक सुरु हुनासाथ एमालेका सांसदहरुले होहल्ला गर्दै बैठकमा अवरोध सुरु गरेका थिए । एमालेले निरन्तर अवरोध गरिरहेपछि बैठक बिहीबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ ।
एमालेले सांसदहरु अजय शाही र विमला खत्रीलाई पदमुक्त नगरिएसम्म संसद चल्न नदिने अडान लिँदै आएको छ । मंगलबार अधिवेशनको पहिलो दिन पनि एमालेकै अवरोधका कारण जम्मा ६ मिनेट बैठक बसेर स्थगित भएको थियो ।
यता प्रदेश सभाका सचिव दुर्लभ पुन मगरले एमालेले कारबाही गरेका सांसदको विषयमा आएका कागजपत्रका विषयमा अन्य जानकारी पनि आएकाले यसबारे छलफल गरेर अघि बढ्ने बताउनुभयो।
आज बैठकमा मुख्यमन्त्री कुलप्रसाद केसी सम्बोधन गर्ने कार्यसूची रहेको थियो । एमालेले सूर्य चिन्ह लिएर चुनाव लडेका अजयबहादुर शाही र उपनिर्वाचनमा दाङबाट नेकपाबाट विजेता विमला वलीलाई कारवाही गरेको पत्र सभामुख पूर्णबहादुर घर्तीलाई बुझाएको थियो । पत्रअनुसार उनीहरुलाई पदमुक्त गनुपर्ने माग एमालेको रहेको प्रमुख सचेतक भूमिश्वर ढकालले बताउनुभयो । रातोपाटीबाट