काठमाडौँ । नेपाली काँग्रेसले जिल्ला अधिवेशन हुन नसकेका १६ जिल्लाको अधिवेशन स्थगित गरेको छ । काँग्रेस केन्द्रीय निर्वाचन समितिले विहीबार एक विज्ञप्ति जारी गर्दै अधिवेशन हुन बाँकी जिल्लाको अधिवेशन कार्यक्रम स्थगित गरेको हो ।आजबाट प्रदेश अधिवेशन सुरु भएकाले जिल्ला अधिवेशन अब महाधिवेशनपछि मात्र गर्ने काँग्रेस निर्वाचन समितिले जनाएको छ ।
काँग्रेसले अहिलेसम्म ६१ जिल्लामा अधिवेशन सम्पन्न गरेको छ । प्रदेश एकका १४ जिल्ला र कर्णालीका १० जिल्लाका अधिवेशन सम्पन्न भएको छ । प्रदेश दुईमा भने नेतृत्व चयन गर्न ८ जिल्लामै बाँकी छ । प्रदेश दुईमा अब महाधिवेशनपछि मात्र जिल्ला अधिवेशन भएको छ । यस्तै बागमती प्रदेशमा चितवन, सिन्धुली, मकवानपुर र सिन्धुपाल्चोक, जिल्ला अधिवेशन सम्पन्न भएको छैन । उक्त जिल्लामा पनि अब महाधिवेशनपछि मात्र जिल्ला अधिवेशन हुनेछ ।
गण्डकीमा प्रदेशमा पनि नवलपरासी पूर्वको जिल्ला अधिवेशन हुन बाँकी छ भने लुम्बिनी प्रदेशमा बाँकेमा पनि जिल्ला अधिवेशन भएको छैन । नवलपरासी पूर्व र बाँकेमा पनि महाधिवेशनपछि मात्र जिल्ला अधिवेशन हुने निर्वाचन समितिले जनाएको छ । यस्तै सुदूरपश्चिम प्रदेशका कैलाली र अछाममा पनि जिल्ला अधिवेशन रोकिएको छ । कैलाली र अछाममा महाधिवेशनपछि जिल्ला अधिवेशन हुनेछ । जिल्ला अधिवेशन सम्पन्न नभएका १६ जिल्लामा महाधिवेशन प्रतिनिधि चयन भइसकेका छन् । रातोपाटीबाट