
काठमाडौँ । सत्तारूढ गठबन्धनको बैठक अघि सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी पार्टीले छलफल गर्नुभएको छ ।खुमलटारस्थित प्रचण्ड निवासमा भएको छलफलमा एकीकृत समाजवादीका नेता झलनाथ खनाल र माओवादी नेता जनार्दन शर्मा पनि उपस्थित हुनुहुन्थ्यो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहायता परियोजना एमसीसी अघि बढाउन दबाब दिएपछि समान धारणा बनाउन दुई दलबीच छलफल भएको हो। यसअघि बिहिबार साँझ बसेको बैठक टुंगोमा पुग्न नसकेपछि आज १० बजे पुनः सत्तारूढ दलको बैठक बस्दैछ। बालुवाटारमा हुने बैठकले आज बस्ने संसद बैठकमा एमसिसी के गर्ने भन्ने विषयमा टुंगो लगाउने छ।
एमसिसी सम्झौता अनुमोदन विषयमा सत्ता गठबन्धन दलहरूबीच बिहीबार सहमति नजुटेपछि शुक्रबार बिहान १० बजे फेरि बैठक बस्न लागेको हो।नेपाली कांग्रेसका नेता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसिसी संसदबाट अनुमोदन हुने बाटोमा गएको भन्दै आजको बैठक बोलाइएको बताउनुभयो।
‘संसदलाई कसरी सुचारू गरिने, एमसिसीलाई कसरी संसदमा लैजाने भन्नेबारे बिहिबार साँझ छलफल भयो,’ मन्त्री कार्कीले भन्नुभयो, ‘थप छलफल गर्न शुक्रबार बिहान १० बजे बैठक बस्छ। प्रधानमन्त्रीले फागुन १६ भित्र एमसिसी पारित गर्नुपर्छ भन्नुभएको छ। छलफल त्यही दिशामा छ।’ यद्यपि आज बस्ने संसद बैठकमा भने एमसिसी टेबल नहुने भएको छ। बिहीबार साँझ बालुवाटारमा बसेको बैठकले एमसिसी भोलि पनि संसदमा टेबल नहुने निर्णय गरेको बैठकमा उपस्थित एक नेताले बताउनुभयो।
‘एमसिसी शुक्रबार पनि टेबल नगर्ने सहमति भएको छ,’ ती नेताले भन्नुभयो, ‘अझै छलफल गरौं, अध्ययन गरौं, बाटो खोजौं, गठबन्धन भरसक नटुटाऔं भन्ने छ।’कांग्रेसले एमसिसी अगाडि बढाउन चाहे पनि माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी तयार नरहेपछि प्रधानमन्त्री शेरबहादुर देउवा दबाबमा छन्। तर १६ फागुनभित्र एमसिसीबारे निर्णय लिइसक्नुपर्ने बाध्यता रहेकाले गठबन्धनमा दौडधूप बढेको हो ।
पाँचदलीय गठबन्धन बैठक सकिनेबित्तिकै बिहिबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट पुगेका थिए।आज दिउँसो १ बजे प्रतिनिधिसभा बैठक पनि बस्दैछ। त्यसअघि ११ बजे कार्य व्यवस्था परामर्श समितिको बैठक बस्नेछ। संसद् सचिवालयले सार्वजनिक गरेको आजको सम्भावित कार्यसूचीमा एमसिसी राखिएको छैन। सेतोपाटीबाट