
चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीनवटै निर्वाचनमा गठबन्धन हुने बताउनुभएको छ । भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै उहाँले गठबन्धन हुने बताउनुभएको हो ।
दाहालले स्थानिय, प्रदेश र सङ्घीय निर्वाचनमा सरकारमा रहेका दलहरु बीचमा गठबन्धन हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘गठबन्धन त भइरहेकै छ नी गठबन्धन टुट्दैन, अहिलेकै गठबन्धन स्थानीय मात्र होइन प्रादेशिक र सङ्घीय निर्वाचनसम्म पनि रहन्छ ।’ नेपाली कांग्रेस चितवनका केन्द्र र जिल्लास्तरका नेताहरुले भरतपुरमा प्रमुखको दाबी नछाड्ने बताउँदै आएका छन् ।
सोही सम्बन्धमा सोधिएको प्रश्नमा दाहालले भन्नुभयो, ‘चितवन कांग्रेसले भनेर केही हुँदैन, कांग्रेसले एक्लै लड्छौँ भनेको छैन, केही मान्छेले मात्रै भनेका हुन् ।’ भरतपुर महानगरपालिकामा उहाँकी छोरी रेनु दाहाल प्रमुख हुनुहुन्छ । यसअघि नेपाली काँग्रेससँगको तालमेलमा उहाँ निर्वाचित हुनुभएको हो । माओवादी केन्द्रले गठबन्धन हुँदा भरतपुर आफ्नो भागमा पर्ने र दाहाललाई दोहो¥याउने जनाउँदै आएको छ ।
जिल्लास्तरमा कांग्रेसले भने गठबन्धन हुँदा भरतपुर महानगरमा आफ्नो उम्मेदवार हुनुपर्ने जनाउँदै आएको छ । प्रचण्ड आफ्नो निर्वाचन क्षेत्र माडी र भरतपुरमा हुने विभिन्न कार्यक्रममा सहभागी हुन आज यहाँ आएका हुन् । उहाँले माडीमा अगुवा कार्यकर्ता प्रशिक्षण, सडक उद्घाटन, आयोजना निरीक्षण, नमुना चेपाङ बस्ती उद्घाटन, पुल उद्घाटन र भरतपुरमा महानगर पालिकाको प्रशासनिक भवन शिलान्यास गर्ने लगायतका कार्यक्रम रहेका छन् । उहाँले भरतपुरमा राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको उद्घाटनसमेत गर्दै हुनुहुन्छ । रासस