कम्युनिष्टविरुद्ध खरो ढंगले उत्रिनुस् : सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आगामी चुनावमा खरो ढंगले प्रतिस्पर्धामा उत्रिन कांग्रेस नेता–कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ । कांग्रेसको प्रतिस्पर्धी कम्युनिष्ट भएको भन्दै उनले चुनावमा खरो ढंगले उत्रिनुपर्ने बताउनुभयो।

आज चन्द्रागिरिमा आयोजित नगरस्तरीय भेलामा नेता सिंहले भन्नुभयो, ‘नारा दिने तर काम नगर्ने पार्टी कम्युनिष्टहरु भएको कुरा लिएर जनतासामु पुग्नु पर्छ ।’ उहाँले २०४६ सालयताको राजनीतिक परिवर्तनपछि अपेक्षाकृत विकास नहुनुमा एमाले मुख्य बाधक भएको आरोपसमेत लगाउनुभयो । कांग्रेसको एक महिने चुनावी अभियानले देशभर हलचल ल्याएको दाबी गर्दै उहाँले जनताको घरमा पुग्दा शालिनता र नम्र व्यवहार देखाउन कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।

स्थानीय निकायको चुनावमा पार्टीका उमेदवार सिफारिस र चयन पार्टी विधान अनुसार गर्नुपर्ने बताउँदै उहाँले विधानको व्यवस्थाभन्दा बढी सिफारिस गरेर आफू लोकप्रिय बन्ने र दोष अरु नेताको टाउकोमा थोपर्ने काम नगर्न निर्देशनसमेत दिनुभयो । कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले काठमाडौंको संगठन बलियो भयो भने देशभरको संगठन बलियो हुने भन्दै त्यसैअनुसारको तयारी कांग्रेसले गरिरहेको बताउनुभयो।

अब काठमाडौंले नै मुलुकको नेतृत्व गर्ने अवसर आउने भन्दै उहाँले भन्नुभयो, ‘हामीले यो अवसर गुमाउनु हुँदैन ।’ कांग्रेस केन्द्रीय सदस्य ध्यानगोविन्द रञ्जित, राजेन्द्र कुमार केसी, कांग्रेसका काठमाडौं जिल्ला सभापति सबुझ बानियाँलगायतले कांग्रेसका उम्मेदवारहरुलाई जिताउने गरी चुनावमा खट्नुपर्नेमा जोड दिनुभयो । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार