काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटले अर्थ व्यवस्थालाई नयाँ रुप दिने दाबी गर्नुभएको छ । नेपाल आर्थिक संघ, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल र अर्थ मन्त्रालयले संयुक्त रुपमा आयोजना गरेको वृहत आर्थिक बहस कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
अहिले अर्थतन्त्रका बारेमा धेरै कोणबाट चिन्ता भइरहेको भन्दै उहाँले बजेटले अर्थ व्यवस्थालाई नयाँ रुप दिने दाबी गर्नुभएको हो । किसानले आफ्नै बारीमा बजेट पसेको महसुस गरून् भन्ने आफूले चाहेको भन्दै उहाँले व्यापारीले आफ्नो गोदाममा उज्यालो पसेको खुसी पाउने बताउनुभयो। उहाँले बजेट सबैको अपनत्व हुने गरी निर्माण गरिने समेत बताउनुभयो ।
कृषि उत्पादन वृद्धि, आयात प्रतिस्थापन, रोजगारी सृजना, श्रम–सीपको उचित व्यवस्थापन, विकास खर्चमा सुधार, सुधारिएको लगानीको वातावरण, निजी क्षेत्रमैत्रीलगायतका विषयलाई प्राथमिकता दिएर बजेट निर्माण हुने उहाँको भनाइ छ । चालु आवको ८ महिनामा कुल वैदेशिक ब्यापारमा निर्यातको हिस्सा १० प्रतिशत नाघेको भन्दै उहाँले आगामी दिनमा यो तथ्यांकलाई थप सुधार गर्न उत्पादन वृद्धिको विकल्प नरहेको बताउनुभयो ।
चालु आवको ८ महिनाससम्ममा निर्यातले नयाँ कीर्तिमान राख्दै एक खर्ब ४७ अर्ब ७४ करोड रुपैयाँको निर्यात भएको थियो । जुन अघिल्लो बर्षको भन्दा ८२.९० प्रतिशत बढी हो । उहाँले व्यापार घाटा कम गर्न थप के कस्ता काम गर्न सकिन्छ भनेर सुझाव समेत माग्नुभएको छ । उहाँले बाह्य कारण अर्थतन्त्रमा असर परेको तर अर्थविद्हरुले व्यक्तिगत रुपमा आफ्नो बारेमा नकारात्मक टिप्पणी गरेको समेत आरोप लगाउनुभयो । अनलाइनखबरबाट