![](https://myagdinews.com/wp-content/uploads/2021/10/deuba12.jpg)
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जानु अघिल्लो दिन सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्यो ।
चुनावी तालेमलबारे छलफल बोलाइएको बैठकमा सत्तारुढ दलका नेताहरुले भारत भ्रमणको एजेण्डाबारे चासो राखेका थिए । नेकपा एकीकृत समाजवादी नेता झलनाथ खनाल, नेकपा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले एजेण्डा राखेर सुझाव दिन आग्रह गर्नुभएको थियो।
तर पटकपटक एजेण्डाबारे सोध्दा पनि नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवा मौन बसेको एक नेताले बताउनुभयो । त्यसपछि सत्तारुढ दलका नेताहरुले लिपुलेक, लिम्पियाधुरा र कालापानीको नेपाली भूभागबारे नेपालको मत राख्न सुझाएका छन् ।
प्रवुद्ध समूह (ईपीजी) को प्रतिवेदन बुझ्नुपर्ने, महाकालीमा भइरहेको अतिक्रमण रोक्नुपर्ने लगायतका समस्याबारे पनि भारतीय पक्षसँग सम्वाद गर्न नेताहरुले सुझाएका छन् । बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दलहरुले दुई देशको सम्बन्धलाई कसरी सुदृढ बनाउने भनेर सुझाव दिएको बताउनुभयो ।
नेपाल र भारतबीच सरकार र सरकारको बीचमा मात्र नभई जनस्तरमा पनि सम्बन्ध रहेको भन्दै उहाँले भन्नुभयो, ‘त्यसलाई प्रगाढ बनाउने र हाम्रा विचमा देखिएका समस्याहरुलाई उच्च स्तरको राजनीतिक र कूटनीतिक माध्यमबाट हल गरेर दुई देशको सम्बन्धलाई अझ सुदृढ बनाउन यो भ्रमण सफल हुनेछ भन्ने विश्वास लिएका छौं ।’ अनलाइनखबरबाट