काठमाडौं । काठमाडौं महानगरपालिकामा नवनिर्वाचित उपमेयर सुनिता डंगोलले पदभार सम्हाल्नुभएको छ । राष्ट्रिय सभागृहमा सपथलगत्तै जिम्मेवारी सम्हाल्दै उहाँले आफ्नो कार्यकालमा पवित्र र स्वच्छ काम गर्ने बाचा गर्नुभयो ।
फरक–फरक दलबाट निर्वाचित जनप्रतिनिधि अझ स्वतन्त्रबाट आएका मेयर बालेन्द्र साहसँग कसरी काम गर्नुहुन्छ भन्ने पत्रकारको जिज्ञासामा उपमेयर डंगोलले पारदर्शी र पारस्परिक आचरणका साथ काठमाडौंबासीको हक, हित र जीवन सहज बनाउन काम गर्ने बताउनुभयो। ‘जो जुन दलबाट आएपनि टिम स्प्रिटमा काम गर्नुपर्छ । व्यक्तिभन्दा पनि संस्थाको सफलता महत्वपूर्ण हुन्छ ।
महानगर सफल भयो भने हामी सबै सफल हुने हो । तब मात्र हामीलाई दिएको मतको सम्मान हुन्छ’, उहाँले भन्नुभयो । यो वा त्यो भनेर राजनीतिलाई फोहोरी खेल नबनाउने भन्दै उपमेयर डंगोलले सहकार्य, सहमति र सहअस्तित्वको सिद्धान्तअनुसार आफू अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो । स्वच्छ, सुन्दर, हराभरा, जीवन्त र सांस्कृतिक काठमाडौंका लागि लाग्ने काम गर्ने उहाँको दोहोर्याउनुभयो । nepalpressबाट