काठमाडौँ । पत्रकारिता छोडेर राजनीतिमा आउनुभएका रवि लामिछानेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ता नगर्न निर्वाचन आयोगमा दुइटा निवेदन परेका छन्। लामिछानेले मंगलबार पार्टी दर्ताका लागि निवेदन दिनुभएको थियो ।
उहाँले निवेदन दिएको भोलिपल्ट दुई समूहले आयोगको कान्तिपथस्थित कार्यालयमा गएर स्वतन्त्र शब्द राखेर पार्टी दर्ता नगर्न निवेदन दिनुभएको हो । ‘दुइटा निवेदन आएका छन् । आयोगले पार्टी दर्ताको निवेदन र यी निवेदन सँगै राखेर प्रक्रिया अघि बढाउँछ,’ आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले भन्नुभयो।
स्वतन्त्र उम्मेदवारी अभियानमा संयोजक डम्बर साहु एउटा निवेदन दिएका छन् भने काभ्रेका मनोज पण्डित र विश्व साइकल यात्री पुष्कर शाहलगायत चार जनाले अर्को निवेदन दिएको प्रवक्ता शर्माले जानकारी दिनुभयो ।उनीहरूले स्वतन्त्र शब्दको आफ्नै महत्व भएको र आफूहरू स्वतन्त्र उम्मेदवारी दिने अभियानमा रहेकाले कुनै पार्टीको नाममा स्वतन्त्र हुन नहुने तर्क गरेका छन्।आयोगले दल दर्ताका लागि निवेदन दिएको ४५ दिनभित्र निर्णय गरिसक्नु पर्ने कानुनी व्यवस्था छ। सेतोपाटीबाट