काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता दिनानाथ शर्माले नेकपा मन्त्री हेरफेर गर्ने नेकपा एकीकृत समाजवादीको निर्णय अपरिपक्व भएको बताउनुभएको छ ।
मंगलबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै माओवादी केन्द्रका केन्द्रीय सदस्य शर्माले छोटो समयमा मन्त्रीले कामको परिणाम दिन नसक्ने भन्दै निश्चित अवधि काम गर्न दिनुपर्ने बताउनुभयो ।
शर्माले ३/४ महिनामा पालो पुर्याउनका लागि मात्रै मन्त्री बनाउने काम नगरी देश र जनताको विकासका लागि काम गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले यस किसिमका पालो पुर्याउनका लागि मात्रै मन्त्री बनाउने संस्कृतिलाई निरुत्साहित गर्नुपर्ने धारणा पनि राख्नुभयो ।
‘भरसक यस्तो नगरेको भए हुन्थ्यो । छिटोछिटो मन्त्री फेर्नु त्यति राम्रो होइन । जनताले त्यसलाई राम्रो मानेका छैनन् । मन्त्री ३र६ महिनामा पालो पुर्याएर चलाउने पद्धतिलाई प्रोत्साहन गर्नु हुँदैन’ उहाँले भन्नुभयो । केन्द्रीय सदस्य शर्माले आगामी निर्वाचनसम्म अहिलेको गठबन्धन निर्धक्क जाने दाबी गर्दै गठबन्धनलाई व्यवस्थित र सुदृढ गर्न आफूहरु लागिपरेको बताउनुभयो । अनलाइनखबरबाट